पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको विरोधमा विप्लवको मसाल जुलुस

तु खबर संवाददाता
२०७८ कार्तिक २७, शनिबार ०९:०४

मकवानपुर । पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिएको भन्दै त्यसको विरोधमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौंडामा बिहिबार शुक्रबार साँझ मसाल जुलुस प्रदर्शन गरेको छ । हेटौंडाको चौकीटोलबाट सुरु भएको मसाल जुलुस बुद्धचोक हुँदै सिमाचोक पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभामा बोल्दै सो पार्टीका केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज नयनले सम्बोधन गर्दै मुल्य वृद्धि कार्तिक २९ गते भित्र फिर्ता नभए आफुहरु कार्तिक ३० गते नेपाल बन्द गर्न बाध्य हुने बताए ।

गएको कार्तिक २५ गते पेट्रोलियम पदार्थमा गरिएको मूल्‍य वृद्धि विरुद्ध विप्लव नेतृत्वको नेकपाले नेपाल बन्‍दसहितका संघर्षका कार्यक्रम घोषणा गरेको छ । एक विज्ञप्‍ति जारी गर्दै नेकपाले चरणबद्ध आन्‍दोलनका कार्यक्रम घोषणा गरेको हो । विरोध कार्यक्रमको अन्‍तिम दिन कात्‍तिक ३० गते नेपाल बन्‍द गर्ने नेकपाले घोषणा गरेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ पुर्‍याएको छ । बढेको मूल्यसँगै पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।