एमाले विवादः माधव पक्षका १४ जना प्रदेशसभा सदस्यले बुझाए स्पष्टिकरण
मकवानपुर । माधवकुमार नेपाल पक्षका प्रदेशसभा सदस्यहरुले नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डमा आज स्पष्टिकरण बुझाएका छन् ।
संसदीय बोर्डले शनिवार नेता नेपाल निकट मानिने १४ जना सांसद्हरुलाई स्पष्टिकरण माग गरेको थियो । सोही अनुसार आज स्पष्टिकरण बुझाइएको नेतृ अष्टलक्ष्मी शाक्यले तु खबरलाई जानकारी दिइन् ।
‘मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध संसद् सचिवालयमा दर्ता गरिएको अविस्वासको प्रस्तावमा किन हस्ताक्षर गर्नुभयो ? भन्ने प्रश्न हामीलाई थियो । हामीले मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारले गरेका गलत कार्यका कारण उहाँकै विरुद्धमा हस्ताक्षर गर्न परेको हो भनी जवाफ पेश गरेका छौँ । उनले भनिन् ।
‘चालु आर्थिक वर्षमा मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारले असन्तुलित बजेट ल्यायो, बजेट मन्त्रीमुखी मात्रै भयो । बजेट अधिवेशनका क्रममा ५ दिनसम्म छलफल भएको र प्रदेशसभाका ६८ जना सांसद्ले असहमति राख्दा पनि त्यसको वेवास्था गर्दै एकलौटी ढंगबाट पास गरियो । तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलको नेतृत्वमा बजेट सन्तुलन गर्न समिति बनेको थियो ।
सोही समितिले अध्ययन गरेर प्रतिवेदन दिएको भएपनि मुख्यमन्त्री पौडेलले प्रतिवेदन सार्वजनिकसमेत गरेनन् । हामीले यीनै कुराहरु स्पष्टिकरणमा उल्लेख गरेका छौँ । –उनले भनिन् ।
माधव नेपाल निकटको ५ र ६ गते काठमाडौँमा भएको भेलामा किन सहभागि भएको ? भन्ने पनि प्रश्न थियो । हामी सँधै पार्टी एकताको पक्षमा भएको र त्यसकै लागि गएको भन्ने जवाफ दिएका छौँ । उनले थपिन् ।
पार्टी विरोधी गतिविधि आफुहरुले नगरेको भन्दै पार्टी एकताको लागि गरेको काममा कारबाही गरियो भने त्यसलाई भोग्न आफुहरु तयार रहेको उनको भनाई छ ।
त्यस्तै माधव पक्षका सांसद्हरुलाई राष्ट्रियसभाको रिक्त सदस्य पदको उपनिर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवार रामबहादुर थापा बादलविरुद्धमा मतदान गरेको आरोप केपी ओली पक्षले लगाएको छ ।
‘मतदान गोप्य हुन्छ । कसले कसलाई भोट हाल्यो सोध्ने र भन्ने कुरै हुँदैन । पार्टीको निर्णय विपरित हामीले काम गरेको छैन । यदि छ जस्तो लाग्छ भने प्रमाणसहित देखाउनुस् । पार्टीको अनुशासन विपरित जाने कुरै हुँदैन । हामीले भनेका छौँ । ’ उनले भनिन् ।
