मुख्यमन्त्री शाक्य नेतृत्वको सरकारको आयु कात्तिक ४ गतेसम्म लम्बियो

तु खबर संवाददाता
२०७८ आश्विन २४,आईतवार १७:५३

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव पेश गरेकी छन् । मुख्यमन्त्री शाक्यले आज अपराह्न बसेको प्रदेशसभाको नवौं अधिवेशनको दोस्रो बैठकमा नेपालको संविधानको १८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत लिन प्रस्ताव पेश गरेकी हुन् ।

मुख्यमन्त्री शाक्यले राजनीति दल एकापसमा विवाद रहेको भएतापनि जनताको हितको लागि र राष्ट्रियताको निमित एकैढिक्का भएर हिड्नुपर्ने अवस्थामा वर्तमान मन्त्रीपरिषद्लाई विश्वासको मत प्रदान गर्न सबैलाई आग्रह गरिन् । बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको अर्को बैठक आगामी कात्तिक ४ गते अपराह्न १ बजे बस्ने गरी आजको बैठक स्थगित गरे । यससँगै मुख्यमन्त्री शाक्य नेतृत्वको सरकारको आयु लम्बिएको छ ।

आगामी ४ गते बस्ने प्रदेशसभाको अधिवेशन बैठकमा सम्भवतः मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने छन् । बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । नेकपा एमाले विभाजनपछि १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ सांसद मात्र रहेका छन् । त्यस्तै, प्रदेशसभामा २३ जना नेकपा माओवादी केन्द्र, २२ जना नेपाली कांग्रेस, ३ जना विवेकशील साझा, २ जना नेमकिपा, २ जना राप्रपा र १ जना जसपाका सांसदहरु रहेका छन् ।