एमालेको नाटकः कात्तिक ४ गतेको प्रदेशसभा बैठक टार्न पत्र

तु खबर संवाददाता
२०७८ कार्तिक ३, बुधबार १२:३७

मकवानपुर । भोलि कात्तिक ४ गते बस्ने प्रदेशसभाको बैठक सार्न नेकपा एमालेले प्रदेशसभा सचिवालयलाई आग्रह गरेको छ । लिखित पत्र पठाउँदै एमालेले भोलि हुने प्रदेशसभाको बैठक सार्न सचिवालयलाई आग्रह गरेको हो । बैठक ११ गतेका लागि बोलाउन एमालेले भर्खरै लिखित प्रस्ताव गरेको तु खबर स्रोतले जानकारी दिएको छ ।
कात्तिक पहिलो हप्ताभित्र नेकपा एमालेको स्थानीय अधिवेशन हुने र सो अधिवेशनका कारण एमालेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु बैठकमा उपस्थित हुन नसक्ने कारण देखाउँदै बैठक ११ गते सार्न सो दलका प्रमुख सचेतक दीपक निरौलाले प्रदेशसभा समक्ष लिखित प्रस्ताव गरेका हुन् । मुख्यमन्त्री शाक्यको भोलि हुने विश्वासको मत टार्नको लागि नेकपा एमालेले आज नाटकीय रुपमा प्रदेशसभा सचिवालयमा बैठक सार्ने प्रस्ताव गरेको हो ।

भोलि बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बोहराले विश्वासको मत लिने कार्यसूचि छ । मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ता पेस गरेकी थिइन् । सो प्रस्तावमाथि भोलि बस्ने बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रकृया अगाडि बढाइने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य अहिले अल्पमतमा छिन् । एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अल्पमतमा परेकी हुन् ।

प्रमुख सचिव खड्काका अनुसार, भोलिको बैठकमा हुने विश्वासको मतको लागि सत्तापक्ष र प्रतिपक्षहरुको लागि मतदान कार्यको निमित छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ । बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । कूल ५६ सांसद रहेकोमा १३ सांसद एकीकृत समाजवादीमा गएसंगै एमाले ४३ सांसदमा खुम्चिन पुगेको छ । प्रदेशसभामा २३ जना नेकपा माओवादी केन्द्र, २२ जना नेपाली कांग्रेस, ३ जना विवेकशील साझा, २ जना नेमकिपा, २ जना राप्रपा र १ जना जसपाका सांसदहरु रहेका छन् ।