१२१ जना सुरुङमै फसेको देखियो: नेपाली सेना

तु खबर संवाददाता
२०८३ भाद्र २२, सोमबार १७:१४

नेपाली सेनाले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित ११ वटा जलविद्युत् आयोजनाका सुरुङभित्र करिब १२१ जना  फसेको जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका एक अधिकारीले परियोजनासँग सम्बन्धित करिब ९ सय जना सम्पर्कविहीन भएको भनिए पनि ती सबै सुरुङभित्र नफसेको जानकारी दिएका हुन् ।

‘परियोजनाले ९ सय हाराहारी सङ्ख्यामा मानिसहरू टनेलभित्र फसेका भनेर भनिए पनि त्यो सबै सङ्ख्या टनेलभित्र फसेका होइनन्,’ ती अधिकारीले भने, ‘टनेलभित्र हाराहारी १२१ जना मात्रै फसेको देखिन्छ ।’

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भने बाढीमा परी आयोजनासँग सम्बन्धित ९८३ जना सम्पर्कविहीन भएको जनाउँदै आएको छ । पछिल्लो विवरणमा इप्पानले आयोजना स्थल र विद्युत्का सुरुङमा फसेका ८९८ जना सम्पर्कविहीन भएको जनाएको छ ।

नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले जलविद्युत् आयोजनाका सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म खोज तथा उद्धार कार्य जारी रहने बताए । सोमबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले खोजी रोक्न निर्णय नगरेसम्म सबै सुरुङमा निरन्तर खोजी गरिने जानकारी दिए ।

‘जबसम्म टनेलहरू ब्रेक थ्रु हुँदैन तबसम्म खोज जारी रहन्छ,’ सहायक रथी थापाले भने ।

भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । रसुवामा रसुवागढी जलविद्युत् आयोजना, रसुवा–भोटेकोशी, माथिल्लो मेलुङ–ए, लाङटाङ खोला, चिलिमे र मेलुङ खोला जलविद्युत् आयोजना प्रभावित भएका छन् । त्यस्तै नुवाकोटमा त्रिशूली, देवीघाट, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी र मिडल त्रिशूली गङ्गा जलविद्युत् आयोजना प्रभावित भएका छन् ।

बाढी प्रभावित आयोजनाका सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी र विदेशी उद्धारकर्मीले संयुक्त रूपमा खोज तथा उद्धार गरिरहेका छन् ।