बाढीको १२ दिनपछि मागियो अन्तर्राष्ट्रिय सहयोग

तु खबर संवाददाता
२०८३ भाद्र २२, सोमबार १७:१२

भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उद्धार तथा खोजी अभियान जटिल बन्दै गएपछि नेपालले अन्तर्राष्ट्रिय सहयोगका लागि औपचारिक आग्रह गरेको छ। बाढी आएको १२ दिनपछि प्रभावित क्षेत्रको कठिन भूगोल र जलविद्युत् आयोजनाका सुरुङमा बढेको चुनौती सामना गर्न सरकारले अत्याधुनिक उद्धार सामग्री र प्राविधिक जनशक्ति माग गरेको हो।

परराष्ट्र मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार, उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक उपकरणको पहिचान गरी मित्रराष्ट्र तथा विदेशी नियोगमार्फत सहयोग जुटाउने प्रक्रिया अघि बढाइएको छ।

विशेषगरी जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोजी र उद्धारमा कठिनाइ देखिएपछि सरकारले उच्च क्षमताका ड्रोन तथा लिडार प्रविधि उपलब्ध गराउन आग्रह गरेको छ। पहिरोले क्षतिग्रस्त र सामान्य उपकरणबाट पुग्न नसकिने स्थानको अवस्थाबारे जानकारी लिन यस्ता प्रविधि उपयोगी हुने मन्त्रालयको भनाइ छ।

बाढीले ल्याएको बाक्लो लेदोका कारण सुरुङ तथा अन्य जोखिमयुक्त स्थानमा उद्धारकर्मीको प्रत्यक्ष प्रवेशसमेत चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा सुरक्षित रूपमा काम गर्न सकिने विशेष मड तथा टनेल रेस्क्यु सुट पनि सरकारले माग गरेको छ।

त्यसैगरी डुबानमा रहेका क्षेत्र तथा सुरुङमा थुप्रिएको पानी र लेदो हटाउन ठूलो क्षमताका पम्प आवश्यक परेको जनाइएको छ। बाढीका कारण क्षतिग्रस्त सडक सम्पर्क पुनःस्थापित गर्न तत्काल प्रयोग गर्न मिल्ने बेली ब्रिज, बेपत्ता व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण सामग्री तथा नमुना सुरक्षित राख्ने प्रयोगशाला फ्रिजरसमेत सहयोग सूचीमा राखिएको छ।

विपद्पछि प्रभावित बस्तीमा संक्रमणजन्य रोग फैलिन सक्ने जोखिमलाई ध्यान दिँदै सरकारले स्वास्थ्य तथा महामारी नियन्त्रणका लागि आवश्यक सामग्री उपलब्ध गराउन पनि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ।

मन्त्रालयले सुरुङभित्रको खोजीमा मानवीय जोखिम उच्च रहेकाले टनेल रेस्क्यु सुट र लिडार प्रविधिलाई तत्काल आवश्यक उपकरणका रूपमा अघि सारेको जनाएको छ। यी साधन उपलब्ध हुँदा अँध्यारा, साँघुरा तथा लेदोले भरिएका संरचनाभित्र फसेका वा बेपत्ता व्यक्तिको अवस्थाबारे छिटो जानकारी लिन र उद्धार प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ।

यसबीच नेपाली सेनाको समन्वयमा पाँच मुलुकका विशेष उद्धार टोली नेपालमा परिचालित भएका छन्। भारत, चीन, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स र मलेसियाबाट आएका विशेषज्ञहरूले सुरुङ तथा जोखिमयुक्त संरचनामा उद्धारका लागि नेपाली टोलीसँग सहकार्य गरिरहेका छन्।