प्रधानमन्त्री बालेनले आज भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
काठमाडौं -प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत झाङ माओमिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
शाहले बिहान ११ बजे भारतीय राजदूत श्रीवास्तवसँग भेटवार्ता गर्नेछन्। त्यसलगत्तै चिनियाँ राजदूत झाङसँग भेटवार्ता गर्ने कार्यक्रम छ।नेपालका दुई प्रमुख छिमेकी भारत र चीनसँगको सम्बन्धलाई समान प्राथमिकता दिँदै दुवै देशका राजदूतसँग एकै दिन भेटवार्ता गर्न लागिएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ। पछिल्लो समय विभिन्न सरोकारवाला तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिसँग भेटघाट बढाएका प्रधानमन्त्री शाहले विदेशी कूटनीतिज्ञसँग पनि प्रत्यक्ष संवाद अघि बढाउन थालेका हुन्।
प्रधानमन्त्री नियुक्त भएपछि शाहले विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग छुट्टाछुट्टै भेटवार्ता नगर्ने नीति लिएका थिए। त्यसको सट्टा उनले काठमाडौंस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक छलफल गर्दै आएका थिए।गत वैशाख २६ र जेठ १२ मा राजदूतहरूसँग संयुक्त बैठक गरेका शाहको उक्त अभ्यासलाई नेपाली कूटनीतिज्ञ तथा परराष्ट्र मामिलाका जानकारहरूले पारदर्शी कूटनीतिक अभ्यासका रूपमा व्याख्या गरेका थिए।
तर, पछिल्लो समय प्रधानमन्त्री शाहको कार्यशैलीमा परिवर्तन देखिएको छ। उनले उद्योगी, व्यवसायी, निर्माण व्यवसायीलगायत घरेलु सरोकारवालासँग पनि नियमित भेटघाट गर्दै आएका छन्। यसअघि असार २३ मा नेपाल भ्रमणमा आएका एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दासँग भने शाहले एक्लाएक्लै भेटवार्ता गरेका थिए।यसअघि प्रधानमन्त्री शाहले नेपाल भ्रमणमा आएका केही उच्च अमेरिकी कूटनीतिज्ञसँग समेत व्यक्तिगत भेटवार्ता गरेका थिएनन्। काठमाडौंस्थित अमेरिकी दूतावासले दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर, दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपतिका विशेष दूत सर्जियो गोर तथा सार्वजनिक कूटनीति मामिलाकी अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्ससँग भेटका लागि गरेको अनुरोध पनि स्वीकार गरेका थिएनन्।
भारतीय र चिनियाँ राजदूतसँगको भेटपछि प्रधानमन्त्री शाहले मंगलबार अमेरिकी दूतावासका उच्च अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।राजदूतहरूसँग व्यक्तिगत भेटवार्ता नगर्ने पूर्ववत् शैलीबाट प्रधानमन्त्री शाह विस्तारै बाहिरिँदै गएको पछिल्ला गतिविधिले देखाएका छन्। भारत र चीनका राजदूतसँग एकै दिन छुट्टाछुट्टै भेटवार्ता गर्न लाग्नुले नेपालको परराष्ट्र नीतिमा प्रत्यक्ष कूटनीतिक संवादलाई थप प्राथमिकता दिन खोजेको संकेत गरेको छ।
