प्रचण्डले प्रतिनिधिसभामा भने – जित पचाउनु हार सहनूभन्दा कठिन हुन्छ
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै हालको समावेशी संसद हजारौं शहीदको बलिदानको जगमा उभिएको बताएका छन् । शाह प्रधानमन्त्री हुनु र राष्ट्रिय स्वतन्त्र पार्टीले सफलता पाउनुलाई पनि क्रान्तिकै संकल्पको जीतका रूपमा रहेको चित्रण प्रचण्डको थियो।
सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले वर्तमान सरकारको एक महिने कार्यशैली र नीति तथा कार्यक्रमप्रति समेत आलोचना गरेका छन् । गरिब र सुकुम्वासी बस्तीहरूमाथि राज्यले चलाएको डोजरलाई पञ्चायती निरंकुशताको झझल्को दिने दमनको दिएका प्रचण्डले व्यवस्थित योजना बिना नै जनताको उठीबास लगाउनु लोकतन्त्रको उपहास भएको बताए । सरकारलाई गरिबको सहारा बन्न आग्रह गरेका उनले संविधान संशोधनको विषय संवेदनशील भएको उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले ट्रेड युनियन, विद्यार्थी संगठन र प्रेस स्वतन्त्रतामाथि सरकारले अंकुश लगाउन खोजेको आरोप समेत लगाए । मिडिया र सामाजिक सञ्जालमा आलोचना गर्नेहरूलाई पक्राउ गर्ने र अध्यादेशमार्फत शासन चलाउन खोज्ने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउने प्रचण्डको भनाइ थियो ।
दुई तिहाइको बहुमत प्राप्त गरेको सत्तापक्षलाई लक्षित गर्दै उनले विगतको नेकपाको उदाहरण दिँदै सत्ताको अहंकार नगर्न आग्रह गरे । ‘हार सहन जति गाह्रो हुन्छ, जित पचाउन त्योभन्दा गाह्रो हुन्छ’ भन्दै उनले संख्या कहिल्यै स्थायी नहुने र जनताको समर्थन निःशर्त नहुने स्पष्ट पारे ।
