संसद छल्दै प्रधानमन्त्री बालेनद्वारा अध्यादेश ल्याउने निर्णय

तु खबर संवाददाता
२०८३ बैशाख १५, मंगलवार २०:०८

प्रधानमन्त्री बनेका बालेन शाहले पनि पूर्ववर्ती सरकारले जस्तै संसदलाई छलेर अध्यादेश ल्याउने सिफारिस गरेका छन् । आज सरकारले दुई वटा अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले यही बैशाख १७ गतेबाट आह्वान गरेको संसद बैठकलाई अचानक स्थगित गर्ने निर्णय गरेको थियो । संसद बैठक स्थगित गर्ने निर्णय गरेका प्रधानमन्त्री बालेन शाहले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।

यसअघि वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सिफारिसअनुसार राष्ट्रपतिले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए । तर, सरकारले फेरि वैशाख १० गते अधिवेशन स्थगित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन स्थगित गरेका थिए ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसैगरी संसद् बैठक स्थगित गरेर विभिन्न अध्यादेश ल्याउने काम गरेका थिए । जसका विरुद्ध सर्वोच्चमा परेको रिटमा सर्बोच्चले पनि सरकारलाई अध्यादेशबाट शासन गर्न नसकिने आदेशहरु जारी गरेको थियो ।