अफ्रिकाको दिगो विकासका लागि वित्तीय खाडल चुनौतीपूर्ण:इकोसक अध्यक्ष थापा

तु खबर संवाददाता
२०८३ बैशाख १५, मंगलवार २०:०१
फाइल तस्वीर : संयुक्त राष्ट्र संघ, फोटो/म्यानुअल एलियास

अफ्रिकाले दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न वार्षिक ६७० अर्बदेखि ८४८ अर्ब डलरसम्मको विशाल वित्तीय खाडल सामना गरिरहेको र यसलाई सम्बोधन गर्न रूपान्तरणकारी एवं समन्वयात्मक कदम चाल्नुपर्ने आवश्यकतामा आर्थिक तथा सामाजिक परिषद् (इकोसक) का अध्यक्ष लोक बहादुर थापाले जोड दिएका छन् ।

इथियोपियाको एडिस अबाबामा आयोजित अफ्रिका क्षेत्रीय दिगो विकास मञ्चु को बाह्रौं सत्रलाई सम्बोधन गर्दै उनले बढ्दो द्वन्द्व, जलवायुजन्य विपद् र आर्थिक अस्थिरताले अफ्रिकी सरकारहरूमाथि थप चुनौती थपेको बताए ।

विशेषगरी ऋणको जोखिम, वैदेशिक लगानीमा उतारचढाव र औद्योगिक विकासको कमीले यस क्षेत्रको प्रगतिमा बाधा पुर्‍याएको उनको भनाइ थियो । अफ्रिकाको ४३ प्रतिशत जनसंख्या अझै पनि विद्युतको पहुँच बाहिर रहेको यथार्थ प्रस्तुत गर्दै उनले एजेन्डा २०३० र एजेन्डा २०६३ को सफल कार्यान्वयनका लागि अहिलेको समय निकै निर्णायक रहेको समेत बताए ।

अध्यक्ष थापाले आफ्नो कार्यकालमा इकोसकले वित्तीय विकास, खाद्य प्रणालीमा सुधार र युवा सशक्तीकरणलाई प्राथमिकतामा राखेको जानकारी दिए । अफ्रिका विश्वकै सबैभन्दा कान्छो महाद्वीप भएको र यहाँको ६० प्रतिशत जनसंख्या २५ वर्ष मुनिका युवा रहेकाले उनीहरूलाई शिक्षा र उद्यमशीलतामार्फत विकासको मूल प्रवाहमा ल्याउनुपर्नेमा थापाले बताए । सेभिया प्रतिबद्धताु मार्फत सहुलियतपूर्ण ऋण र जलवायु वित्तलाई विस्तार गर्दै निजी पूँजी परिचालन गर्नु नै विकासको मुख्य आधार हुने उनले बताए । क्षेत्रीय मञ्चहरूले राष्ट्रिय प्राथमिकतालाई विश्वव्यापी एजेन्डासँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै थापाले चाहेको अफ्रिका निर्माणका लागि इकोसकले आवश्यक सहयोग र समन्वय जारी राख्ने समेत बताएको इकोसकले जनाएको छ ।