डीपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित
काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध चयन भएका छन् । यद्यपि, उनको औपचारिक घोषणा भने आगामी आइतबार बस्ने प्रतिनिधिसभाको बैठकबाट गरिनेछ।सभामुख पदका लागि शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। उक्त समयमा अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन्।
अर्यालको उम्मेदवारीका प्रस्तावक रास्वपा सभापति रवि लामिछाने रहेका छन् भने समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल छन्।प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ अनुसार सभामुख पदमा एक मात्र उम्मेदवारी परेमा समर्थकले प्रस्ताव पेश गरेपछि अध्यक्षता गर्ने व्यक्तिले उक्त सदस्यलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था छ।
रास्वपाको प्रतिनिधिसभामा स्पष्ट बहुमत रहेकाले अन्य दलहरूले उम्मेदवारी दर्ता नगरेका हुन्। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका मात्रै १८२ सांसद रहेका छन् भने नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेकपा माओवादी केन्द्रका १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद छन्।सभामुख चयन भएसँगै उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ। उपसभामुखको निर्वाचन सभामुखले तोकेको मिति र समयमा हुने व्यवस्था छ।
सभामुख र उपसभामुख दुवै संवैधानिक परिषद्का सदस्य हुने भएकाले उपसभामुख कसलाई बनाइन्छ भन्ने विषय अहिले राजनीतिक रूपमा चासोको केन्द्रमा रहेको छ। संविधानको धारा २८४ अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिका लागि सिफारिस गर्ने गर्दछ।
