नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह, राष्ट्रपतिद्वारा सपथ

तु खबर संवाददाता
२०८२ चैत्र १३, शुक्रबार १७:३८

प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएसँगै उनको सपथ ग्रहण भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। बहुमतप्राप्त दलको संसदीय दलको नेताको रूपमा उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। संविधानको धारा ७६(१) अनुसार उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

प्रधानमन्त्रीमा नियुक्त भएपछि उनलाई शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ गराइएको छ । राष्ट्रपति पौडेलले शाहलाई प्रधानमन्त्रीको सपथ ग्रहण गराएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता शाहलाई यस अघि सो दलले संसदीय दलको नेतामा चयन गरेको थियो ।

प्रधानमन्त्रीमा शाहको नियक्ति र सपथ भएपछि उनले आजै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

विस्तारित मन्त्रिपरिषद्मा डा. स्वर्णिम वाग्ले अर्थ, सुदन गुरुङ गृह, शिशिर खनाल परराष्ट्र, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात, विराजभक्त श्रेष्ठ उर्जा, जलस्रोत तथा सिंचाई, गणेश पौडेल संस्कृति, पर्यटन तथा नागरिक, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद, निसा मेहता स्वास्थ्य, जनसंख्या तथा खानेपानी, डा. विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधि, प्रतिभा रावल भुमी व्यवस्था, गरिवी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन, सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिला, गीता चौधरी कृषि तथा पशुपंक्षी र वन तथा वातावरण, दिपक साह श्रम तथा रोजगार र सिता वादी महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त भएका छन् ।
नवनियुक्त मन्त्रीहरुको आजै प्रधानमन्त्री शाहले राष्ट्रपतिको समुपस्थितिमा पद तथा गोपनियताको सपथ गराएका छन् भने उनीहरुले आजै पदभार ग्रहण समेत गरेका छन् ।

प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय र उद्योग  वाणिज्य तथा आपूर्ति आफू मातहत नै राखेका छन् । विभिन्न मन्त्रीहरुले पदभार ग्रहण गर्दै विभिन्न निर्णयहरु समेत गरेका छन् ।