निर्वाचन शान्तिपूर्ण भएपछि प्रधानमन्त्रीले गरिन् पशुपतिनाथमा पूजा

तु खबर संवाददाता
२०८२ चैत्र ४, बुधबार ११:३५

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप पूजा गरेको उनको सचिवालयले जनाएको छ।

मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना पनि गरिन् ।

मुलुकभर सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भन्दै कामना गरेकी छन्। जेज जी आन्दोलन भएपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

प्रधानमन्त्रीमा कार्कीलाई नियुक्त गर्दै ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गर्ने कार्यादेशसहित प्रतिनिधिसभा विघटन गरिएको थियो । सोही कारण कार्कीको नेतृत्वमा पुनः प्रतिनिधिसभाको निर्वाचन भएको हो । यो निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि कार्कीलाई बधाई आइरहेका छन् ।