नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक सुरु, समानुपातिक सांसद चयन मुख्य एजेन्डा
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक सुरु भएको छ। बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो करिब २ बजेबाट सुरु भएको हो। खराब मौसमका कारण बैठक तय गरिएको समयभन्दा करिब एक घण्टा ढिला गरी सुरु भएको बताइएको छ।
बैठकको मुख्य एजेन्डा समानुपातिक प्रणालीतर्फ पार्टीले प्राप्त गरेको सिटका आधारमा प्रतिनिधिसभाका सदस्य छनोट गर्नु रहेको छ। समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट २० जनालाई प्रतिनिधिसभा सदस्यका रूपमा चयन गरी नाम नीर्वाचन आयोगमा पठाउने तयारी गरिएको छ।
पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समुदायबाट सांसद छनोट गर्नेछ। जसअनुसार खसआर्य र आदिवासी जनजातिबाट ६/६ जना, मधेसी र दलित समुदायबाट ३/३ जना, थारू र मुस्लिम समुदायबाट एक-एक जना तथा एक जना पिछडिएको क्षेत्रबाट चयन गरिनेछ।
यसपटकको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ २० सिट जितेको छ। पार्टीले चैतको पहिलो सातासम्म केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी समेत गरेको बताइएको छ।
