भारतबाट फर्किने मतदातालाई नाकामा सहज आवागमनको व्यवस्था गर्न गृहको निर्देशन

तु खबर संवाददाता
२०८२ फाल्गुन १०, आईतवार १३:५६

काठमाडौँ । गृह मन्त्रालयले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै भारतबाट स्वदेश फर्किने नेपाली नागरिकका लागि सीमा क्षेत्रमा सहज र सम्मानजनक आवागमन सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

शुक्रबार जारी परिपत्रमार्फत मन्त्रालयले सीमावर्ती नाकामा मतदाता सहजीकरण गर्ने व्यवस्था मिलाउन छिमेकी देशका समकक्षी निकायसँग समन्वय बढाउन आग्रह गरेको हो । भारतमा रोजगारी गर्दै आएका नेपाली नागरिक मतदानका लागि ठूलो संख्यामा स्थलमार्ग हुँदै स्वदेश फर्कने अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सो क्रममा सीमा क्षेत्रमा चोरी, ठगी, लुटपाटजस्ता घटनाको जोखिम रहनुका साथै अनावश्यक जाँचका कारण मतदाताले असुविधा भोग्न सक्ने सम्भावना रहेकाले सुरक्षा र सम्मानमा विशेष ध्यान दिन निर्देशन दिइएको छ ।

गृह मन्त्रालयकी सहायक प्रवक्ता रमा आचार्यले सीमावर्ती जिल्लाका स्थानीय प्रशासनले आवश्यकताअनुसार छिमेकी देशका समकक्षीसँग बैठक तथा छलफल गरी आवागमन सहज बनाउने गरी समन्वय गर्नुपर्ने बताइन् । “निर्वाचनमा सहभागी हुन स्वदेश फर्कने नेपाली नागरिकलाई नाकामा कुनै दुःख नहोस् भन्ने हाम्रो उद्देश्य हो,” उनले भनिन् ।

सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बललाई पनि स्वदेश फर्किने मतदातालाई सहजीकरण गर्न विशेष निर्देशन दिइएको छ । निर्वाचनको ४८ घण्टाअघि नाका बन्द हुने प्रावधानलाई ध्यानमा राख्दै भारतीय समकक्षीसँग समन्वय गरी परिचयपत्रको आधारमा नेपाली नागरिकलाई स्वदेश प्रवेश गराउने व्यवस्था मिलाउन भनिएको मन्त्रालयले जनाएको छ ।