राप्रपाबाट झविन्द्र फुल्लेलको अर्घाखाँचीमा उम्मेदवारी दर्ता

तु खबर संवाददाता
२०८२ माघ ७, बुधबार ०९:३७

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अर्घाखाँचीको तर्फबाट झविन्द्र फुल्लेलले उम्मेदवारी दर्ता गराएका छन्।

पार्टी कार्यालयमा भेला भएका नेता-कार्यकर्ता र समर्थकहरूसँगै र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर फुल्लेलले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

गणतन्त्र खारेजी, हिन्दु राष्ट्र पुनर्स्थापना र संवैधानिक राजतन्त्र स्थापनाको एजेन्डा बोकेर चुनावी मैदानमा उत्रिएका फुल्लेल राप्रपा अर्घाखाँचीका कार्यबाहक अध्यक्ष हुन्। यसअघि उनले प्रदेशसभा निर्वाचनमा अर्घाखाँची ‘क’ बाट पनि प्रतिस्पर्धा गरिसकेका छन्।

आफ्ना राजनीतिक एजेन्डामा अडिग र विपक्षीका खरो आलोचकका रूपमा चिनिँदै आएका फुल्लेलले यसपटक प्रतिनिधिसभा निर्वाचनमार्फत पार्टीका मूल मुद्दालाई जनतासमक्ष बलियो ढंगले प्रस्तुत गर्ने बताएका छन्।

र्‍यालीका क्रममा राप्रपाका समर्थकहरूले पार्टीका नारा र झन्डा प्रदर्शन गर्दै उत्साहजनक सहभागिता जनाएका थिए। निर्वाचन नजिकिँदै जाँदा अर्घाखाँचीको राजनीतिक माहोल थप तातिँदै गएको छ।