सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई १ करोड धरौटी आदेश
काठमाडौं । सहकारी ठगी सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पर्सा जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी बुझाउन आदेश दिएको छ।
मंगलबार पर्सा जिल्ला अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको एकल इजलासले वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको हो। उनी हाल धरौटी बुझाउने प्रक्रियामा रहेको अदालत स्रोतले जनाएको छ।
उक्त सहकारीको बचत अपचलन अभियोगमा गत असार १ गते लामिछानेलगायत २९ जनाविरुद्ध सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा दर्ता गरिएको थियो। सरकारी वकिलको कार्यालय, पर्साले यस प्रकरणमा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ। मुद्दा जेठ ३० गते नै दर्ता भइसकेको थियो।
मंगलबार लामिछाने अदालतमा उपस्थित भएपछि थुनछेक बहस सम्पन्न भएको थियो। अदालतको आदेशअनुसार धरौटी बुझाएपछि उनी चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्न जाने तयारीमा रहेको बताइएको छ।
पर्सा जिल्ला अदालतका तहसिलदार देवराज भट्टराई र श्रेस्तेदार प्रभाकरकुमार मल्लिकले लामिछाने धरौटी बुझाउने प्रक्रियामा रहेको जानकारी दिएका छन्। अदालत स्रोतले पनि रविसँग १ करोड रुपैयाँ धरौटी माग गरिएको पुष्टि गरेको छ।
