न्युयोर्कस्थित क्विन्सको एक रेस्टुरेन्टमा आगलागी : ९ जना घाइते
न्युयोर्कको क्विन्सस्थित कोरोना क्षेत्रमा शनिबार बिहान एउटा रेस्टुरेन्टबाट सुरु भएको आगलागी आवासीय अपार्टमेन्टहरूमा फैलिँदा ठूलो क्षति भएको छ। १०७-२० कोरोना एभिन्यूमा अवस्थित जेसी रेस्टुरेन्टबाट सुरु भएको आगोले केही बेरमै माथिल्लो तलामा रहेका घरहरूमा सल्किएको थियो ।
आगलागीका कारण अपार्टमेन्ट भित्र दुईजना नागरिकहरू थुनिएका थिए। घटनाको जानकारी पाउनासाथ अग्नि नियन्त्रण विभागका ७९ जना कर्मचारीहरू घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेका थिए। अग्नि नियन्त्रकहरूले भर्याङको सहायताले भवनको माथिल्लो तलामा फसेका व्यक्तिहरूलाई सुरक्षित बाहिर निकाल्न सफल भएका छन्।
यस घटनामा एक अग्नि नियन्त्रकसहित कुल ९ जना घाइते भएका छन्। घाइतेमध्ये ८ जनाको अवस्था सामान्य रहेकाले उनीहरूलाई अस्पताल लैजानु परेन भने सामान्य चोट लागेका एकजनालाई उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा पठाइएको छ। आगलागीबाट घरबारविहीन भएका बासिन्दाहरूलाई राहत र बसोबासका लागि रेडक्रसले तत्काल सहयोग उपलब्ध गराएको छ। आगो के–कसरी सुरु भएको हो भन्नेबारे सम्बन्धित निकायले विस्तृत अनुसन्धान गरिरहेको छ।
