रुकुमबाटै चुनाव लड्ने प्रचण्डको निर्णय, पूर्वी रुकुम निश्चित
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आउँदो प्रतिनिधिसभा निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन्। शनिबार रुकुम पश्चिममा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले रुकुम पूर्वबाट चुनाव लड्ने निर्णय लगभग निश्चित भइसकेको बताएका हुन्।
सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, हुनसक्छ अहिलेको चुनाव म रुकुमैबाट लड्छु। त्यो यही रुकुम भन्ने नठान्नुहोला, पूर्वी रुकुम आउने करिब निश्चित भएको छ। म पूर्वी रुकुम आउने भनेपछि पश्चिम रुकुम पनि आउने नै हो।उनले रुकुमका जनतासँग पार्टी हेडक्वार्टरको सम्बन्ध अझ सुदृढ हुने उल्लेख गर्दै काठमाडौंस्थित पार्टी मुख्यालयको ढोका सधैं खुला रहने प्रतिबद्धता जनाए। “पहिलेभन्दा बढी तपाईंहरूको दुःख-सुख र विकास निर्माणका काममा साथ रहनेछु, उनले भने।
एकता सभामा ठूलो संख्यामा कार्यकर्ता उपस्थित भएकोप्रति आभार व्यक्त गर्दै प्रचण्डले रुकुमका जनता पलायनको पछि नलागी मुल पार्टीसँगै उभिएको भन्दै धन्यवाद दिए। उनले जनार्दन शर्माप्रति लक्षित गर्दै व्यक्तिको पछि नलागी पार्टीलाई साथ दिएकोमा पनि कार्यकर्तालाई धन्यवाद ज्ञापन गरे।
विगतमा प्रभाकर ले आफूलाई रुकुम ल्याउने गरेको स्मरण गर्दै उनले अब झन् धेरै रुकुम आउने बताए। प्रभाकरको अभावमा पार्टी हेडक्वार्टरसँग सिधा सम्बन्ध टुट्छ कि भन्ने भ्रममा नपर्न आग्रह गर्दै उनले शिक्षा, स्वास्थ्य, सडकसहितका आवश्यक पूर्वाधार विकासमा प्राथमिकताका साथ लाग्ने बताए।
रुकुम पूर्व तत्कालीन नेकपा (माओवादी)को बलियो गढ मानिन्छ। अघिल्लो निर्वाचनमा माओवादीबाट पूर्णबहादुर घर्ती भारी मतले विजयी भएका थिए।
प्रचण्डले अहिलेसम्म कुनै निर्वाचन क्षेत्रमा दोहोर्याएर चुनाव नलडेको उल्लेखनीय छ। उनले ०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं-१० र रोल्पा-२ बाट जितेका थिए। ०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं-१० र सिराहा-३ बाट उम्मेदवार बनेका उनी काठमाडौंमा पराजित भए पनि सिराहाबाट निर्वाचित भएका थिए। ०७४ मा एमालेसँग पार्टी एकता गरी चितवन-३ बाट निर्वाचित प्रचण्ड ०७९ को निर्वाचनमा भने चितवन छाडेर गोरखा-२ बाट विजयी भएका थिए।
पश्चिम रुकुमका जनताको विश्वास र अपेक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको भन्दै प्रचण्डले विकास निर्माणलाई नयाँ शिराबाट अघि बढाउने र रुकुमका जनताको दुःख-सुखमा एकाकार हुन निरन्तर रुकुम आउने प्रतिबद्धता व्यक्त गरे।
