अमेरिकाको भिसाका लागि नेपालीले पनि धरौटी राख्नुपर्ने
अमेरिकी सरकारले थप २५ देशका नागरिकहरुका लागि भिसा लिँदा धरौटी राख्नु पर्ने नीति ल्याएको छ ।
यस नीति अनुसार, अब नेपाली नागरिकले पनि अमेरिकाको पर्यटक तथा व्यवसायिक भिसा आवेदन दिँदा धरौटी रकम बुझाउनु पर्ने भएको हो । यो भिसाका लागि ५ हजार देखि १५ हजारसम्म अमेरिकी डलर बराबरको रकम धरौटी बापत् बुझाउनु पर्नेछ । यो नियम जनवरी २१, २०२६ देखि लागु हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
विशेष गरी बी-१ र बी-२ (व्यवसाय तथा पर्यटकीय) भिसाका आवेदकहरूले धरौटी रकम बुझाउनुपर्नेछ । धरौटी रकमको निर्धारण भिसा अधिकारीले गर्नेछन् । यो धरौटी रकम तिर्दैमा भिसा स्वीकृत हुन्छ भने निश्चित छैन । आवेदकले भिसा प्राप्त गरेपछि भिसा नियमहरुको पालना गरेमा यो रकम फिर्ता हुने व्यवस्था छ ।
भिसाको म्याद सकिँदा पनि अमेरिका नै बस्ने वा भिसा नियमहरुको उलंघन गरेमा यो रकम जफत हुने नीतिमा छ ।
विशेष गरी भिसाको म्याद सकिएपछि पनि अमेरिका बस्ने (ओभरस्टे) दर उच्च भएका र कागजात सुरक्षामा कमजोरी देखिएका देशहरूलाई लक्षित गरी यो नीतिलाई थप विस्तार गरिएको हो ।
डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि अपनाइएको कडा आप्रवासन नीतिको कडीको रुपमा यो नीति आएको हो । यसअघि केही देशहरुमा यो नियम लागु गरिएको थियो ।


