वीरगञ्जमा कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बियो
धार्मिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि वीरगञ्ज महानगरपालिकामा जारी कर्फ्यूको अवधि मंगलबार साँझ ६ बजेसम्म लम्ब्याइएको छ । स्थानीय प्रशासनले शान्ति सुरक्षा अवस्था अझै सामान्य हुन नसकेको जनाउँदै कर्फ्यूको समय थप गरेको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि लगाइएको कर्फ्यू पहिले मंगलबार दिउँसो १ बजेसम्म बढाइएको थियो । तर अवस्था पूर्ण रूपमा नियन्त्रणमा नआएपछि मंगलबार साँझ ६ बजेसम्म कर्फ्यू निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
प्रशासनले वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यू लागू गरेको छ । तोकिएको चार किल्लाभित्र कसैलाई पनि आवतजावत गर्न, भेला हुन, सभा, जुलुस, प्रदर्शन वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको सूचनामा उल्लेख छ ।
कर्फ्यू अवधिमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिएको छ । अत्यावश्यक कारणले बाहिर निस्कनुपरेमा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरी वा १०० नम्बरमा फोन गरेर मात्र आवतजावत गर्न प्रशासनले अनुरोध गरेको छ । कर्फ्यूको उल्लङ्घन भए सुरक्षाकर्मीले कडा कदम चाल्न सक्ने चेतावनीसमेत दिइएको छ ।
यद्यपि कर्फ्यू अवधिभर एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटकका सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू तथा हवाई टिकट भएका यात्रुहरूको आवागमनमा सहजीकरण गरिने प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार सम्भावित अवाञ्छित गतिविधि रोक्न र सार्वजनिक शान्ति सुरक्षालाई सुनिश्चित गर्न कर्फ्यूको अवधि थप गरिएको हो ।


