सामाजिक सद्भाव बिथोल्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

तु खबर संवाददाता
२०८२ पुष २१, सोमबार २१:०८

काठमाडौँ। गृह मन्त्रालयले पछिल्लो समय तराई तथा मधेसका केही जिल्लाहरूमा धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा गम्भीर असर पर्ने गरी भइरहेका गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले सामाजिक सञ्जालको दुरुपयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति फैलाउने र सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने कार्य भइरहेकोमा सचेत गराएको छ। विशेष गरी धनुषा जिल्लाका विभिन्न स्थानमा निश्चित समुदाय र धर्मलाई लक्षित गरी अवैधानिक गतिविधि गर्ने, धार्मिक स्थलमा तोडफोड, आगजनी र लुटपाट जस्ता हिंसात्मक कार्यमा संलग्न व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याई कारबाहीको प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले स्पष्ट पारेको छ।

शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा पुस २० र २१ गते विभिन्न समुदायका प्रतिनिधि, केन्द्रीय सुरक्षा समिति तथा तराई र मधेसका २१ जिल्लाका सुरक्षा अधिकारीहरूसँग घनीभूत छलफल गरिएको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले बहुजातीय र बहुधार्मिक विशेषता बोकेको नेपाली समाजमा सबैलाई संयमता र सतर्कता अपनाउन आग्रह गर्दै जातजाति र सम्प्रदायबीचको सम्बन्धमा आँच पुर्‍याउने, गाली बेइज्जत गर्ने र घृणा फैलाउने कार्य कानुनद्वारा दण्डनीय रहेको समेत स्मरण गराएको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा कानुनले निषेध गरेका यस्ता गतिविधि जो कोहीले जहाँसुकै बसेर गरे पनि कडा कानुनी कारबाही गरिने चेतावनी दिँदै सामाजिक मर्यादा कायम राख्न सबैमा अपिल गरिएको छ।