अमेरिकी राजदूत थम्प्सनद्वारा प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट
काठमाडौँ । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्ध, आपसी हित, सहयोग र समसामयिक विषयमा छलफल भएको छ ।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालमा नेपाल-अमेरिका सम्बन्ध सुदृढ बनाउन राजदूत थम्प्सनले खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरिन् । साथै, अमेरिकाले नेपाललाई लामो समयदेखि प्रदान गर्दै आएको विकास सहयोग र समर्थनप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि नेपालको लोकतान्त्रिक प्रक्रिया, शान्ति र स्थिरताका लागि अमेरिकी सहयोग निरन्तर रहने विश्वास व्यक्त गरिन् ।
प्रधानमन्त्री कार्कीले विशेष गरी आगामी फागुन महिनामा हुने निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न सहयोगको अपेक्षा रहेको उल्लेख गरिन् । उनको नेतृत्वमा रहेको अन्तरिम सरकारले २१ फागुनमा निर्वाचन गराउने तयारी गरिरहेको छ ।
जवाफमा राजदूत थम्प्सनले आगामी दिनमा नेपाल-अमेरिका सम्बन्ध अझ प्रगाढ हुने र अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग निरन्तर जारी रहने विश्वास व्यक्त गरे । दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै नेपालको विकास र लोकतन्त्र सुदृढ गर्ने दिशामा सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
