वीरगञ्जमा कर्फ्यु दिउँसो १ बजेसम्म थप
काठमाडौँ।धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि वीरगञ्जमा जारी कर्फ्यु आदेशको समय मंगलबार दिउँसो १ बजेसम्म थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि लगाइएको कर्फ्यु स्थिति सामान्य नबनेपछि थप गरिएको हो।
जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको जनाएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार अवस्था अझै पूर्ण रूपमा नियन्त्रणमा नआएकाले कर्फ्युको समय लम्ब्याउनुपरेको हो।
कर्फ्यु वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा र इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म लागू गरिएको छ। तोकिएको चार किल्लाभित्र कुनै पनि किसिमको भेला, सभा, जुलुस, प्रदर्शन, धर्ना तथा आवतजावत गर्न निषेध गरिएको छ।
प्रशासनले कर्फ्यु अवधिमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ। अत्यावश्यक अवस्थामा निस्किनु परे नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न वा १०० नम्बरमा फोन गरी अनुमति लिन आग्रह गरिएको छ।
कर्फ्यु आदेशको अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनलाई सुरक्षाकर्मीहरूले सहजीकरण गर्ने प्रशासनले जनाएको छ।
आइतबारदेखि वीरगञ्जमा दुई समुदायबीच धार्मिक तथा सामाजिक विषयलाई लिएर प्रदर्शन हुँदै आएको छ। निरन्तरको प्रदर्शनका कारण शहरको अवस्था अशान्त बनेपछि स्थानीय प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेको हो। प्रशासनले विवाद समाधानका लागि पहल जारी राखेको समेत प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिएका छन्।



