समानुपातिक त्यागेर प्रत्यक्ष चुनावमा जाने आशिफ शाहको घोषणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट समानुपातिक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका अभिनेता तथा फिल्म निर्माता आशिफ शाहले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्। शनिबार बिहान सामाजिक सञ्जालमार्फत वक्तव्य सार्वजनिक गर्दै उनले जनताको भावनामा चोट नपुगोस् भन्ने हेतुले समानुपातिक सांसद नबन्ने निर्णय लिएको बताएका छन्।
शाहले आफू राजनीतिमा चासो राख्ने तर सक्रिय राजनीतिमा संलग्न नहुने व्यक्ति भएको उल्लेख गर्दै देश निर्माणप्रतिको हुटहुटी भने सधैँ जीवित रहेको बताएका छन्। आम जनताको चाहनाअनुरूप बालेन-रवि-कुलमानको सहकार्य सम्भव होस् भन्ने प्रयासमा आफू सक्रिय रहेको र त्यसैका आधारमा पार्टीका साथीहरूले समानुपातिक सूचीमा नाम समावेश गरेको उनको भनाइ छ।
उनले भनेका छन्, म राजनीतिमा आउनै परे प्रत्यक्ष निर्वाचनमार्फत जनतासँगै उभिएर उम्मेदवारी दिन चाहन्छु भनेर पहिल्यै स्पष्ट गरेको थिएँ। तर देशव्यापी चुनावी अभियान आवश्यक भएको भन्दै साथीहरूको सुझावअनुसार समानुपातिक प्रणालीमार्फत अघि बढियो।
तर उम्मेदवारी दर्तापछि आएका समाचार, जनताबाट व्यक्त प्रतिक्रिया र पार्टीभित्रकै भावना देखेर आफू गहिरो आत्ममन्थनमा पुगेको शाहले बताएका छन्। सही नियत हुँदाहुँदै पनि कतै न कतै गल्ती हुन पुगेछ भन्ने अनुभूति भयोउनले लेखेका छन्।
यसै सूचनामार्फत आफ्नो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै शाहले समानुपातिक सूचीमा रहेका अन्य उम्मेदवारहरूलाई पनि जनआवाजको सम्मान गर्दै नाम फिर्ता लिन आग्रह गरेका छन्।
शाहले आगामी दिनमा काठमाडौँ-५ बाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने निर्णय स्पष्ट भएको पनि बताएका छन्। प्रत्यक्ष निर्वाचनमा उठ्ने नै हो। हामी काठमाडौँ-५ बाट उम्मेदवारी दिन पूर्ण रूपमा तयार छौँ, उनले उल्लेख गरेका छन्।
उनले देशभन्दा ठूलो केही नभएको भन्दै जुनसुकै पद वा हैसियतमा रहे पनि देश निर्माणका लागि आवश्यक योगदान दिन सधैँ तयार रहेको स्पष्ट पारेका छन्।


