टिकटक विवादपछि मधेशमा तनाव, धनुषाबाट वीरगञ्जसम्म फैलियो प्रदर्शन

तु खबर संवाददाता
२०८२ पुष २०, आईतवार १४:०८

काठमाडौँ ।टिकटकमा एकअर्काको धर्म-संस्कृतिलाई लक्षित गरी गरिएका अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषाबाट सुरु भएको विवाद पर्साको वीरगञ्जसम्म फैलिँदा प्रदेशका आठैवटा जिल्लामा सुरक्षा सतर्कता कडा पारिएको छ।

धनुषाको कमला नगरपालिकास्थित मस्जिदमा तोडफोड र कुरान जलाइएको घटनाको विरोधमा आइतबार वीरगञ्जमा भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनका क्रममा केही स्थानमा झडप हुँदा स्थिति तनावपूर्ण बनेको थियो। प्रहरीका अनुसार अहिले अवस्था नियन्त्रणमा छ।आइतबार बिहानैदेखि वीरगञ्जका घण्टाघर, छपकैया, मुर्ली, मालपोत चोक र इदगाह चोक आसपासका क्षेत्रमा मुस्लिम समुदायले टायर बालेर प्रदर्शन गरेका थिए। प्रदर्शनकारीले जनकपुर घटनाका दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाहीको माग गरेका छन्। केही स्थानमा प्रहरीमाथि ढुङ्गामुढा भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले जवाफी कारबाही गरेको हो।

केही दिनअघि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नामका दुई युवाले टिकटकमा विवादास्पद भिडियो पोस्ट गरेका थिए। धार्मिक सहिष्णुतामा खलल पुग्ने सामग्री भएको भन्दै स्थानीय अगुवाहरूले उनीहरूलाई प्रहरीको जिम्मा लगाएका थिए। इलाका प्रहरी कार्यालय खजुरीमा छलफल भइरहँदा पक्राउको विरोध र समर्थन गर्ने समूहबीच झडप भएको थियो। सोही क्रममा मस्जिदमा आक्रमणसमेत भएको र संलग्न व्यक्तिलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले केहीबेर तनाव उत्पन्न भए पनि अहिले अवस्था सामान्य रहेको बताए।सामाजिक सञ्जालमार्फत फैलिएको सामग्रीले धार्मिक तथा साम्प्रदायिक भावना प्रभावित भएपछि सुरक्षा चुनौती बढेको हो। स्थिति नियन्त्रणमा छ, घटनामा संलग्न केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जमियतुल उलमा नेपालका केन्द्रीय सहअध्यक्ष मौलाना अली असगर मदानीले धनुषामा भएको घटनालाई निन्दनीय भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन। उनले सबै धर्म मान्ने नेपालीबीच आपसी सम्मान र सद्भाव कायम गर्नुपर्नेमा जोड दिए।प्रशासनले सम्भावित झडप हुन सक्ने क्षेत्र पहिचान गरी सुरक्षाकर्मीको संख्या बढाएको छ। सामाजिक सद्भाव नबिथोल्न संयम अपनाउन सबै पक्षलाई आग्रह गरिएको छ।