न्युयोर्कमा ट्याक्सी चालकको घाँटी थिचेर हत्या, आरोपी पक्राउ

तु खबर संवाददाता
२०८२ मंसिर २९, सोमबार ०५:५५
तस्बिर : गिरिजा अधिकारी, न्युयोर्क

न्युयोर्क । डिसेम्बर १ तारिखमा न्यूयोर्कको ब्रूस्टर ट्रेन स्टेशनबाट ग्राहक लिएपछि हराएका एक जना ६६ वर्षीय ट्याक्सी चालकको हत्या भएको खुलेको छ । कनेक्टिकटका ट्याक्सी चालक अउरेलिओ झुनिओ ओर्बेजको हत्या भएको हो । उनको शव डिसेम्बर ७ मा क्रोटन फल्स जलाशयमा तैरिरहेको अवस्थामा भेटिएको हो ।

प्रहरीले उनको हत्याको आरोपमा एक २८ वर्षीय न्यूयोर्कको पलिङका बासिन्दा स्यान्टोस भास्क्वेज रामिरेजलाई पक्राउ गरेको जनाएको छ । उनलाई डकैती र हत्याको आरोप लगाइएको छ । उनले ती ट्याक्सी चालकको घाँटी थिचेर हत्या गरेको स्वीकार समेत गरेका छन् ।

भाडाको विषयमा विवाद भएको थियो ती आरोपीलाई शुक्रबार राति नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । उनको गाडि नजिकैको पर्डी ट्रेन स्टेशनको पार्किङमा रहेको थियो भने प्रमाणको रुपमा औंठा छाप र डीएनए संकलन गरिएको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा सिसिटिभी फुटेजहरु, रगत तथा अन्य बस्तुहरुबारे पनि अध्ययन गरेको थियो । पिडीतको मोबाइल पनि घटनास्थलमै फेला परेको पहरीले जानकारी दिएको छ ।

त्यसैगरी, न्युयोर्क म्यानहाटनमा मेसीज् स्टोरको शौचालयमा बच्चाको डाइपर फेर्दै गरेकी क्यालिफोर्नियाकी ३८ वर्षीया महिलामाथि अन्धधुन्ध आक्रमण भएको छ । आक्रमणमा संलग्न केरी अहिरनेलाई प्रहरीले पक्राउ गरेको छ ।

आक्रमणकारीले महिलाको ढाडमा चक्कु प्रहार गरेकी छिन् । डाइपर फेर्ने टेबलबाट भुइँमा खसेपनि उनलाई कुनै किसिमको चोट लागेको छैन ।

आक्रमणकारी अहेरनेमाथि हत्या प्रयास, आक्रमण, हतियार राखेको र बालबालिकाको कल्याण जोखिममा पारेको लगायतका अभियोग लगाइएको छ। उनी एक दिन अघि मात्र एक वर्षभन्दा बढी समय साइकियाट्रिक सेन्टरबाट डिस्चार्ज भएकी व्यक्ति भएको खुलेको छ ।

यस्तै, ब्रुकलिनको पूर्वी न्यूयोर्कमा आइतबार बिहान ६ जना किशोरकिशोरीलाई गोली हान्ने कार्यमा संलग्नहरुको प्रहरीले खोजी गरिरहेको छ । न्यूयोर्कको एटलान्टिक एभिन्यूमा रहेको एक कार्यक्रम स्थल बाहिर त्यसरी किशोर किशोरीमाथि गोली प्रहार भएको थियो । घटना बिहान ११ बजेर १५ मिनेट आसपास भएको हो ।

घटनास्थलबाट प्रहरी अधिकारीहरुले चार पुरुष र दुई जना महिलालाई गोली लागेको अवस्थामा फेला पारेको थियो । प्रहरीले गोलीकाण्डको सम्बन्धमा उनीहरूको खोजी गरिरहेको छ र घटनामा संलग्न भएको आरोपमा हालसम्म कोही कसैलाई पनि प्रहरीले प्रक्राउ गरेको छैन ।