लुम्बिनी लायन्सको शानदार जित, काठमान्डु बाहिरियो
काठमाडौं । लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजलाई चार विकेटले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी-ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एलिमिनेटर खेलमा काठमान्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो। यस जितसँगै लुम्बिनीले अब फाइनल प्रवेशका लागि बिहीबार विराटनगर किङ्ससँग दोस्रो क्वालिफायर खेल्नेछ। विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएको थियो। सुदूरपश्चिम भने यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु १९ ओभर १ बलमा १११ रनमा अलआउट भयो। सुरुआतमै शीर्षक्रम ध्वस्त हुँदा काठमान्डु दबाबमा परेको थियो। पावर प्लेभित्रै ४ विकेट गुमाउँदै काठमान्डुले २९ रन मात्र जोड्न सक्यो। आठौं नम्बरमा ब्याटिङ गरेका सन्तोष यादवले १७ बलमा एक छक्कासहित सर्वाधिक २३ रन बनाए। जोन सिम्पसन र आदिल आलमले समान १८-१८ रन जोडे।
लुम्बिनीका बलरहरू प्रभावशाली देखिए। शेर मल्ल र कप्तान रोहितकुमार पौडेलले ३-३ विकेट लिए भने रुवेन ट्रम्पलम्यानले २ र अभिषेश गौतमले १ विकेट झारे। शेर मल्लले चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिँदै प्रतियोगितामा आफ्नो विकेट संख्या १३ पुर्याए।
जवाफी ब्याटिङमा लुम्बिनीका ओपनर डार्शी सर्टले ३४ बलमा ३३ रन बनाए। सन्दीप जोराले २३ रनको योगदान दिए भने कप्तान रोहित पौडेलले १८ रन जोडे। विकेटकिपर निरोशन डिकवेलाले अविजित १४ रन बनाएर जित सुनिश्चित गरेका हुन्।
एलिमिनेटरमा हार भोगेसँगै लिग चरणमा तेस्रो स्थानमा रहेको काठमान्डु गोर्खाज प्रतियोगिताबाट बाहिरिएको छ। लुम्बिनी भने उत्कृष्ट पुनरागमन गर्दै दोस्रो क्वालिफायरसम्मको यात्रा तय गर्न सफल भएको छ।


