एनपीएल पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर भिड्दै

तु खबर संवाददाता
२०८२ मंसिर २३, मंगलवार ०९:३०

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ अन्तर्गत आजदेखि प्लेअफ चरणका खेलहरू सुरु हुँदैछन्। प्लेअफको पहिलो खेलको रूपमा आज पहिलो क्वालिफायर आयोजना हुँदैछ।

अंकतालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको विराटनगर किङ्सबीच पहिलो क्वालिफायर खेल हुनेछ। खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा मंगलबार अपराह्न ४ बजे सुरु हुने आयोजकले जनाएको छ।

लिग चरणमा सातमध्ये छ खेल जित्दै १२ अंकसहित सुदूरपश्चिम रोयल्स शीर्षमा रहँदै प्लेअफमा प्रवेश गरेको हो। लगातार छ खेल जितेको सुदूरपश्चिम अन्तिम खेलमा मात्रै पराजित भएको थियो। विराटनगर किङ्सले सात खेलमध्ये पाँचमा जित निकाल्दै दोस्रो स्थान सुरक्षित गरेको थियो।

लिग चरणमा सुदूरपश्चिमले विराटनगरसँग मात्रै हार बेहोरेको थियो भने विराटनगर चितवन र लुम्बिनीसँग पराजित भएको थियो।

आजको खेलमा जित हात पार्ने टोली सिधैँ फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले इलिमिनेटर खेलमार्फत फाइनलमा पुग्ने अर्को मौका पाउनेछ।

गत संस्करणको उपविजेता रहेको सुदूरपश्चिम रोयल्स लगातार दोस्रो संस्करणमा प्लेअफमा पुग्न सफल भएको हो भने विराटनगर किङ्स पहिलोपटक एनपीएलको प्लेअफमा पुगेको टोली हो।