नेपाल विद्युत् प्राधिकरणका सात ग्रिड सबस्टेसन पूर्ण रूपमा स्वचालित

तु खबर संवाददाता
२०८२ मंसिर १९, शुक्रबार १४:३८

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आधुनिक, स्मार्ट र भरोसायोग्य विद्युत् प्रणाली निर्माण गर्ने दीर्घकालीन योजनाअनुसार पुराना सातवटा ग्रिड सबस्टेसनलाई पूर्ण रूपमा स्वचालित बनाई सञ्चालनमा ल्याएको छ। पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुर गरी सातवटा सबस्टेसन अब मिनभवनस्थित नयाँ निर्माण गरिएको केन्द्रीय नियन्त्रण कक्षमार्फत सञ्चालन हुँदै आएका छन्।

प्राधिकरणले १३ वटा पुराना सबस्टेसनलाई स्वचालित बनाउने लक्ष्यसहित काम थालेकोमा सातवटाको स्वचालन सम्पन्न भइसकेको छ। बाँकी स्युचाटार, टेकु, मातातीर्थ, चाबहिल, के–३ तथा लामसाँघु गरी ६ वटा सबस्टेसन दुई महिनाभित्र स्वचालन प्रणालीमा आवद्ध गरिने प्राधिकरणले जनाएको छ। यी सबस्टेसनहरू स्युचाटारस्थित भार प्रेषण केन्द्रसँग सुपरभाइजरी नियन्त्रण तथा डेटा प्राप्ति प्रणालीमार्फत जोडिने भएकाले समग्र विद्युत् प्रणाली सञ्चालन थप स्थिर र प्रभावकारी हुने प्राधिकरणको दाबी छ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार सबस्टेसन स्वचालित भएपछि बारम्बार हुने विद्युत् अवरोध न्यून हुने, वास्तविक समयका तथ्यांक प्रयोग गरेर लोड व्यवस्थापन सहज हुने, प्राविधिक क्षति घट्ने, सञ्चालन तथा सम्भार खर्च कम हुने र स्मार्ट ग्रिड विकासको मार्ग प्रशस्त हुनेछन्। उनले स्वचालनपछि क्रमशः सबस्टेसनहरू मानवरहित मोडमा सञ्चालन गर्न सकिने र भौतिक रूपमा कर्मचारी खटाउनुपर्ने आवश्यकता घट्ने बताए।

एशियाली विकास बैंक (एडीबी)को विद्युत् प्रसारण तथा वितरण दक्षता सुदृढीकरण परियोजनाअन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणमा स्वचालन कार्य भइरहेको हो। हालसम्म सम्पन्न भएको सातवटा सबस्टेसनको स्वचालनसहित परियोजनाको लागत करिब ६१ करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ।

देशभरका बाँकी ६४ वटा ग्रिड सबस्टेसनलाई पनि एडीबीकै सहुलियतपूर्ण ऋणमा स्वचालित बनाउने काम तीव्रगतिमा जारी छ। उक्त कार्य आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यो योजना पूरा भएपछि राष्ट्रिय प्रसारण प्रणालीका सबै ग्रिड सबस्टेसन स्वचालित हुने प्राधिकरणले जनाएको छ।