सिमरामा दोस्रो दिन पनि तनाव: जेन–जी युवाको प्रदर्शन

तु खबर संवाददाता
२०८२ मंसिर ४, बिहीबार १२:५१

काठमाडौं । बाराको सिमरा क्षेत्रमा नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी युवाबीच भएको विवादपछि उत्पन्न तनाव बिहीबार पनि जारी रह्यो। बुधबार दिनभरै झडप र तनाव भएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको थियो। बेलुकापछि अवस्था केही सामान्य बने पनि क्षेत्र पूर्ण रूपमा शान्त हुन सकेको थिएन।

बिहीबार बिहान १० बजेदेखि जेन–जी युवाहरू सिमरा चोकमा टायर बालेर प्रदर्शनमा उत्रिएका थिए। आफूहरूमाथि एमाले कार्यकर्ताले कुटपिट गरेको भन्दै उनीहरूले घटनामा संलग्न व्यक्तिहरूको पक्राउको माग राख्दै प्रदर्शन गरेका हुन्। बुधबार राति प्रहरी प्रशासन र युवाहरूबीच सहमति भएपछि सडक सञ्चालनमा आए पनि बिहीबार बिहानैदेखि वातावरण पुनः अशान्त बनेको थियो।

प्रदर्शनकारी युवाहरूले कुटपिटमा संलग्न एमाले कार्यकर्तालाई बिहीबार बिहान १० बजे प्रहरीमा उपस्थित गराउने आश्वासनपछि मात्र बिहान साढे ६ बजेतिर प्रदर्शन स्थगित गरेका थिए। किटानी जाहेरीका आधारमा घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिमा जीतपुरसिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नं. ६ का वडाध्यक्ष कैमुदिन अन्सारी छन्।

अशान्त परिस्थितिका कारण सिमरा तथा आसपास क्षेत्रका सामुदायिक र निजी विद्यालयहरू आज बन्द गरिएको स्थानीय प्रशासनले जनाएको छ।