विप्लवको पार्टी दर्ता,चुनाव चिन्ह गुलाब

तु खबर संवाददाता
२०८२ मंसिर २, मंगलवार १५:३१

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले अन्ततः निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। आयोगले सोमबार पार्टीलाई दर्ता नम्बर २१० प्रदान गर्दै दल दर्ता प्रक्रिया सम्पन्न गरेको हो।

विप्लव नेतृत्वको पार्टीले यसअघि ‘नेपाल कम्युनिस्ट पार्टी’ नामबाट गतिविधि गर्दै आएको भए पनि आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागिताका लागि ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी)’ नाममा दल दर्ता गराएको हो। पार्टीका नेता–कार्यकर्तासहित विप्लव स्वयं मंगलबार निर्वाचन आयोग उपस्थित भई प्रमाणपत्र बुझेका थिए।

दर्तापछिको संक्षिप्त टिप्पणीमा विप्लवले नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियानका साथ पार्टीलाई निर्वाचनतर्फ उन्मुख गराउने बताएका छन्। १० वर्षे एकीकृत जनक्रान्तिको लाइन त्यागेर शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा प्रवेश गर्ने निर्णय अघि सारेका विप्लवले अब बन्दुक होइन, चुनाव चिन्हका रूपमा ‘गुलाबको फूल’ समाएर जनतामाझ जाने तयारी गरेको बताएका छन्।