मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद : प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड
काठमाडौं ।मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादमा प्रदेश प्रमुखको कार्यकक्षमा समेत तोडफोड भएको छ।प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका दलका प्रदेश सांसद र कार्यकर्ताहरूले आज प्रदेश प्रमुख कार्यालयमा तोडफोड गरेका हुन्।
प्रदर्शनकारीहरूले जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यालय अगाडिको बोर्ड र गमलासहितका सामग्री तोडेका छन्। उनीहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि नाराबाजी गर्दै प्रदेश प्रमुखको राजीनामा मागेका छन्।अस्वस्थ भएर उपचारका लागि काठमाडौं गएकी प्रदेश प्रमुख भण्डारीले एमालेका सरोजकुमार यादवलाई सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनले यादवलाई बर्दिबासस्थित एक होटलमा शपथ गराएकी थिइन्।
यसअघि कांग्रेस सांसद वीरेन्द्रकुमार सिंहले मुख्यमन्त्रीको कार्यकक्षमा रहेको नेपालको राष्ट्रिय झण्डा फालेका थिए। मुख्यमन्त्री सरोज यादवविरुद्ध असन्तुष्ट दलका नेता तथा कार्यकर्ताले मुख्यमन्त्री कार्यालय र मन्त्रालयहरूमा तालाबन्दी गर्दै प्रदेश प्रमुखको कार्यालयमा समेत तोडफोड गरेका हुन्।मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार तोडफोडबाट कुर्सी, गमला र होर्डिङ बोर्डमा सामान्य क्षति पुगेको छ।यस घटनापछि मधेश प्रदेशको राजनीतिक वातावरण झन् बिग्रीएको छ।



