मधेशमा एमाले नेतृत्वको तीनदलीय संयुक्त सरकार गठन

तु खबर संवाददाता
२०८२ कार्तिक २४, सोमबार १०:०४

काठमाडौं मधेश प्रदेशमा एमाले, संघीय समाजवादी र राप्रपाको सहभागितामा संयुक्त सरकार गठन भएको छ। सबैभन्दा ठूलो दलको हैसियतमा एमाले नेता सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन्।प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम एमाले दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। मुख्यमन्त्रीमा नियुक्त भएको केही समयमै यादवले चार सदस्यीय सानो आकारको मन्त्रिमण्डल गठन गरेका छन्।

मुख्यमन्त्री यादवसहित सरकारमा एमाले, संघीय समाजवादी र राप्रपाबाट एक–एक जना मन्त्री रहेका छन्। एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री बनेका हुन्। मन्त्रीहरूको कार्यविभाग भने अहिलेसम्म तोकिएको छैन।प्रदेश प्रमुख भण्डारीले बर्दिवासस्थित पानस होटलमा मुख्यमन्त्री यादव र नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन्। तर, प्रदेश प्रमुखको यो कदमलाई कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्रलगायतका दलहरूले असंवैधानिक भन्दै आलोचना गरेका छन्।

ती दलहरूले मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन माग गर्दै हिजो साँझ मात्र प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए।तर, त्यसको भोलिपल्टै प्रदेश प्रमुख भण्डारीले धारा १६८(३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।यसअघि संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री बनेका जितेन्द्र सोनलले गत कात्तिक २३ गते बहुमत गुमेपछि पदबाट राजीनामा दिएका थिए।