राताम्य पुँजी बजारः निराश बन्दै लगानीकर्ता
काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । गत बिहिबार घटेको बजारले आज पनि तल झर्ने क्रम जारी राखेको हो । पछिल्लो समय बजारमा निरन्तर उतारचढाव देखिन थालेको छ, जसले साना र अनुभवहीन लगानीकर्तालाई फस्ने जोखिम बढाएको छ । बजार बढ्दा आशावादी भएर शेयर खरिद गर्ने र घट्दा अति आत्तिएर बिक्री गर्ने लगानीकर्ताको व्यवहारले गर्दा लगानी अलपत्र पर्ने देखिएको छ ।थोरै नाफा देखिए लगानीकर्ता बुक गर्ने प्रवृत्ति बढाउँदा बजारमा बिक्री दबाब बढेको छ । बजारमा निरन्तर ओरालो लाग्नुमा लगानीकर्ताको मनोबल कमजोर हुनु प्रमुख कारण भएको विशेषज्ञहरूले बताएका छन् । यसले शेयर बजारमा अस्थिरता बढाएको छ र छोटो अवधिमा नाफा कमाउने लगानीकर्तालाई जोखिममा पारेको छ ।
शेयर बजारको यस अस्थिरतामा माफिया तथा ठूला लगानीकर्ताको चलखेल पनि जोडेर व्याख्या गरिएको छ । त्यसमाथि राजनीतिक अस्थिरता कायम रहँदा तोकिएको समयमा निर्वाचन हुने वा नहुने अनिश्चितताले लगानीकर्तामा जोखिम लिने डर थप बढाएको छ । यस कारणले गर्दा बजारमा लगानीकर्ताको विश्वास अझै कायम हुन सकेको छैन ।नेपाल धितोपत्र बोर्डमा पनि कामकाज प्रभावित भइरहेको छ । कर्मचारी आन्दोलन र अध्यक्ष सन्तोष नारायण श्रेष्ठको राजीनामा मागका कारण नियामक निकायको कार्यक्षमता कमजोर भएको छ । यसले बजारमा लगानीकर्ताको विश्वास र मनोबललाई थप कमजोर बनाएको विशेषज्ञहरूले बताएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०२ अकंले घटेर २५६६.०९ बिन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको १ करोड ६ लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९० करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको १.२९ प्रतिशत, विकास बैंक समूहको १.८१ प्रतिशत, फाइनान्स समूहको २.९१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६९ प्रतिशतले घटेको छ ।




