झिनो सुधारसहित नेप्से हरियालीमा

तु खबर संवाददाता
२०८२ माघ १४, बुधबार १५:२४

काठमाडौं । मंगलबार भारी गिरावट आएको शेयर बजार बुधबार सामान्य सुधारसहित बन्द भएको छ। नेप्से परिसूचक ५.३८ अंकले बढेर २७३१.८९ बिन्दुमा कायम भए पनि लगानीकर्ताको मनोवृत्ति अझै ‘पर्ख र हेर’कै अवस्थामा देखिएको छ।

मंगलबार बजारमा नाफा बुक गर्ने प्रवृत्ति हाबी हुँदा तीव्र गिरावट देखिएको थियो। अल्पकालीन नाफा सुरक्षित गर्ने उद्देश्यले गरिएको बिक्री दबाबका कारण बजार नकारात्मक बनेको थियो। त्यसको असर बुधबार पनि आंशिक रूपमा देखिए तापनि बजार झिनो अंकले हरियालीमा फर्किएको हो।

देशमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधिले पूँजी बजारमा केही उत्साह ल्याएको छ। तर बजारमा सुधार देखिनासाथ नाफा बुकिङ बढ्दा निरन्तर उतार–चढाव देखिन थालेको छ। यसले दीर्घकालीन स्थायित्वप्रति लगानीकर्ताको पूर्ण विश्वास अझै कायम हुन नसकेको संकेत गर्छ।

यद्यपि, आधारभूत पक्ष भने सकारात्मक देखिन्छन्। राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालयको पूँजी बजारमैत्री नीति, साथै बैंक तथा वित्तीय संस्थाको घट्दो ब्याजदरले दीर्घकालीन रूपमा बजार सुधारतर्फ जाने अपेक्षा बलियो बनाएको छ।

बुधबार ३३४ कम्पनीका २ करोड ३६ लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ११ अर्ब ४९ करोड ३९ लाख रुपैयाँ पुगेको छ। यसदिन ८ उपसूचक हरियालीमा रहे भने ५ उपसूचक राताम्य भए। कुल १४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ११२ कम्पनीको घटेको छ, ७ कम्पनीको मूल्य स्थिर रह्यो।

कारोबारका आधारमा आँखु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ८३ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यसपछि राधि विद्युत कम्पनीको ५४ करोड ३६ लाख, एसवाई प्यानलको ४९ करोड ८८ लाख र रिभर फल्स पावरको ३० करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक र आँखु खोला जलविद्युत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। प्रतिशत वृद्धिका आधारमा मिथिल्ला लघुवित्त ९.५१ प्रतिशत, पिपुल्स पावर ९.२२ प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोपावर ९.०४ प्रतिशतले अगाडि रहे। त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्स, त्रिशुली जलविद्युत र मनकामना इन्जिनियरिङ कम्पनीको शेयर मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ।