कारोबार रकम घट्दै जाँदा शेयर बजारमा निराशा
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात् मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.५८ अंकले घटेर २६८३.१५ बिन्दुमा कायम भएको हो ।
आज कुल ३२२ कम्पनीको १ करोड ८७ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बजार घटेसँगै कारोबार रकम पनि अपेक्षाकृत सुस्त देखिएको छ, जसले लगानीकर्ताको सहभागिता कमजोर भएको संकेत गर्दछ ।
कारोबार रकमका आधारमा एसवाई प्यानल शीर्ष स्थानमा रह्यो । कम्पनीको आज ५९ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको हो । त्यसपछि आँखुखोला जलविद्युत कम्पनीको ४१ करोड रुपैयाँ, युनियन हाइड्रोपावरको ३२ करोड २२ लाख रुपैयाँ र पिपल्स पावरको २५ करोड ७ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।
उपसूचकतर्फ हेर्दा १० वटा समूह राताम्य भएका छन् । वाणिज्य बैंक समूह ०.६३ प्रतिशत, विकास बैंक समूह ०.६१ प्रतिशत र फाइनान्स समूह १.०९ प्रतिशतले घटेको छ । मंगलबार ६६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९० कम्पनीको घटेको छ । ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यसदिन कालिञ्चोक दर्शन लिमिटेड र एचएलआई लार्ज क्याप फण्डको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, पञ्चकन्या माई हाइड्रोपावरको ५.१५ प्रतिशत, रावा इनर्जीको ४.८७ प्रतिशत र एसवाई प्यानलको ४.८४ प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ ।
पछिल्ला केही दिनदेखि बजार सुस्त बन्दै जाँदा लगानीकर्तामा निराशा बढ्दै गएको देखिन्छ । सोमबार झिनो अंकले बढेको बजार मंगलबार पुनः ओरालो लाग्दा ‘पर्ख र हेर’को अवस्था हावी भएको छ । सूचक घट्दा पनि कारोबार रकम उल्लेखनीय रूपमा नबढ्नुले बजारप्रति लगानीकर्ताको भरोसा अझै बलियो नभएको विश्लेषकहरू बताउँछन् ।
यसैबीच, बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरेका दोस्रो त्रैमासिक वित्तीय विवरणमा केही संस्थाको अवस्था अपेक्षाकृत कमजोर देखिएपछि लगानीकर्तामा सतर्कता बढेको छ । नाफा, कर्जा विस्तार र सम्पत्ति गुणस्तरसम्बन्धी सूचक कमजोर देखिनुले बजारमा डरको वातावरण सिर्जना भएको जनाइएको छ ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदा केही समय बजारमा उत्साह देखिए पनि नाफा बुक गर्ने प्रवृत्ति बढेसँगै बजार टिकाउ हुन सकेको छैन । यद्यपि, बैंक ब्याजदर घट्दै जानु र पूँजी बजारमैत्री नीतिगत प्रयासहरूका कारण निकट भविष्यमा बजार स्थायित्वसहित सुधारतर्फ अघि बढ्ने आशा गरिएको छ ।
