लिपुलेक सम्झौताप्रति रास्वपाको आपत्ति

तु खबर संवाददाता
२०८२ भाद्र १०, मंगलवार ११:३७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारत र चीनबीच लिपुलेक हुँदै सीमा व्यापार मार्ग पुनः खोल्ने सम्झौताप्रति कडा आपत्ति जनाएको छ। पार्टीले नेपाली भूभागमाथि अन्य देशहरूको कुनै पनि गतिविधि वा सम्झौता नेपालको प्रत्यक्ष सहभागिता र सहमतिबिना वैध मान्न नसकिने प्रष्ट पारेको छ।

रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले मंगलबार जारी गरेको विज्ञप्तिमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको सार्वभौम भूमिको अविभाज्य अंश भएको उल्लेख गर्दै सरकारको रवैयाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधान, सन् १८१६ को सुगौली सन्धि र त्यसपश्चात् भएका अन्य ऐतिहासिक सम्झौताहरूका आधारमा उक्त भूभाग नेपालको हो भन्ने कुरा ऐतिहासिक, भौगोलिक, राजनीतिक र कानुनी प्रमाणहरूले निर्विवाद रूपमा स्थापित गर्दछ।”

रास्वपाले प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणमा सम्बन्धित नेतृत्वसँग लिपुलेक, लिम्पियाधुरा र कालापानीको प्रश्न दृढतापूर्वक उठाउन माग गरेको छ। संसदमा यसअघि उठाइएको नक्सा र राष्ट्रियताको मुद्दाप्रति सरकारले देखाएको अनिच्छाले पार्टी सशंकित भएको पनि उल्लेख छ।

विज्ञप्तिमा नेपाल सरकारलाई संवेदनशील विषयलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्न स्मरण गराइएको छ। साथै, सत्तापक्ष र प्रतिपक्ष सबै मिलेर राष्ट्रिय हितका प्रश्नमा सर्वात्मिक एकताका साथ शान्तिपूर्ण तर प्रभावकारी कूटनीतिक उपायमार्फत समाधान खोजिनुपर्नेमा रास्वपा अडिग रहेको स्पष्ट पारिएको छ।

रास्वपाले आवश्यक परे सरकारलाई सहयोग गर्न तयार रहेको पनि जनाएको छ।

540251928_1702587817108357_1220403380824624084_n