प्लास्टिक प्रदूषण सन्धि सम्बन्धी वार्ता सहमति विना स्थगित

गिरिजा अधिकारी
२०८२ श्रावण ३०, शुक्रबार १६:०३
प्लास्टिक प्रदुषण नियन्त्रणका लागि बाध्यकारी कानुन विकास गर्न संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रमको आयोजनामा जेनेभामा सुरु भएको बैठक । तस्बिर : मनकुमार न्यौपाने / जेनेभा

गिरिजा अधिकारी, काठमाडौं ।

संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रमको पहलमा सन् २०२२ देखि सहमतिको लागि प्रयास गरिएको विश्वव्यापी प्लास्टिक प्रदुषण नियन्त्रण सम्बन्धी सन्धी जेनेभाबाट पनि स्वीकृत हुन सकेन । सदस्य राष्ट्रहरुबीच सहमति हुन नसक्दा प्लास्टिक नियन्त्रण सम्बन्धी बाध्यकारी कानुन निर्माण गर्ने प्रयास असफल भएको हो ।

सामुद्रिक वातावरण सहितको प्लास्टिक प्रदुषण नियन्त्रण सम्बन्धी अन्र्तराष्ट्रिय कानुनी रुपमा बाध्यकारी उपकरण विकास गर्न आयोजित अन्तर सरकारी वार्ता समिति (आइएनसी ५.२) को बैठक कुनै सहमतिमा पुग्न नसकी स्थगित भएको संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । समितिले अर्को बैठक कहिले र कहाँ गर्ने भनेर घोषणा गर्ने समेत जनाएको छ ।

जेनेभा बैठकमा २ हजार ६ सय भन्दा बढी प्रतिनिधि र पर्यवेक्षकहरु सहभागी थिए । १८३ देशबाट १४०० प्रतिनिधि, १ हजार जना पर्यवेक्षक, ७० जना मन्त्री र उपमन्त्रीहरु तथा ३० जना उच्चस्तरीय प्रतिनिधिहरुले छलफलमा भाग लिएका थिए ।

संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रमकी कार्यकारी निर्देशक इङ्गर एन्डरसनले आफूहरुले चाहेको सन्धी प्राप्त गर्न नसके पनि प्लास्टिक प्रदुषण विरुद्धको प्रयास जारी रहने प्रतिक्रिया दिएको सो कार्यक्रमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अघिल्लो वर्ष दक्षिण कोरियाको बुसानमा तयार गरिएको प्रस्तावलाई जेनेभामा आधार पत्रको रुपमा प्रस्तुत गरिएको थियो । सत्रको क्रममा अध्यक्षले मस्यौदा पाठ र संशोधित पाठ प्रस्ताव सार्वजनिक गरेका थिए । तर गहिरो छलफल भए पनि यसमा सदस्यहरुको सहमति हुन नसकेको संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रमले जनाएको छ ।

सचिवालयकी कार्यकारी सचिव ज्योति माथुर फिलिपले यो समस्यालाई समाधान गर्न साझा प्रतिवद्धतासहित प्रस्तुत हुने बताएकी छिन् ।

जेनेभाको यो सत्र नोभेम्बर र डिसेम्बर २०२४ मा बुसान, दक्षिण कोरियाको निरन्तरताको रूपमा आयोजना गरिएको हो। यसअघि नोभेम्बर २०२२ मा उरुग्वेको पुन्टा डेल एस्टेमा, जुन २०२३ मा फ्रान्सको पेरिस, नोभेम्बर २०२३ मा केन्याको नैरोबी, र अप्रिल २०२४ मा ओटावा, क्यानडामा सम्पन्न भएका थिए।