कुलिङ पिरियड विवादले स्थगित भयो राज्य व्यवस्था समितिको बैठक
काठमाडौँ । प्रहरी विधेयकबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था तथा सुशासन समिति बैठक कुलिङ पिरियड सम्बन्धी विवादका कारण स्थगित भएको छ ।
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ कुलिङ पिरियड सम्बन्धी प्रावधानमा किर्ते गरी बाहेक थपेको खुलासा भएपछि अहिले समितिका सभापति रामहरि खतिवडा विवादमा तानिएका छन् ।
समितिबाट पारित भएको विधेयकमा किर्ते गरी सर्वाधिक माग गरिएको कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाउने कार्यमा खतिवडाको हात रहेको भन्दै विवाद भएपछि आज बस्ने भनिएको राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ । माओवादी सांसद माधब सापकोटाले बिधेयकमा बाहेक शब्द कसरी थपियो भनेर जवाफ मागेपछि समितिका सभापति खतिवडाले बैठक स्थगित गरेका हुन् ।
सभापति खतिवडाले कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा बाहेक थप भएको सन्दर्भमा आफूले नैतिक जिम्मेवारी लिने बताएका छन् । यो कसरी थपियो, यसबारे अनुसन्धान हुन्छ, कमजोरी गर्नेमाथि कारवाही हुन्छ– खतिवडाले भने ।



