शिक्षा मन्त्रीमा रघुजी पन्त, ऊर्जा राज्यमन्त्री तामाङ पदमुक्त

तु खबर संवाददाता
२०८२ बैशाख १०,बुधबार १९:१०
Photo Credit- Office of the President of Nepal

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरेका छन् । उनको सपथ भोलि हुने तय भएको छ भने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई पदमुक्त गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति कार्यालयले बुधबार अपराह्न पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त गरेको हो भने तामाङलाई पदमुक्त गरेको हो ।

तामाङले सरकारको निर्णय सार्वजनिकरूपमा अस्वीकार गर्दै विरोध जनाएका थिए भने प्रधानमन्त्री उनीसित रिसले चुर भएका थिए । यता, शिक्षा मन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि पन्तलाई सो जिम्मेवारीमा नियुक्त गरिएको छ ।

सबैभन्दा हास्यस्पद त के छ भने शिक्षा मन्त्रीले राजीनामा दिएको विषयमा आफूलाई कुनै जानकारी नभएको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्ति आएको छिनपछि पन्त शिक्षा मन्त्रीमा नियुक्त भएका थिए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति तामाङले सार्वजनिक रूपमा असहमति जनाएका थिए ।