जनयुद्ध दिवसको अवसरमा दौड प्रतियोगिता हुँदै

मकवानपुर । पूर्व जनमुक्ति सेना, वाईसियल, अखिल क्रान्तिकारी र अखिल नेपाल खेलकुद महासंघ मकवानपुरको संयुक्त आयोजनामा हेटौंडामा खुल्ला दौड प्रतियोगिता हुने भएको छ ।
३० औं जनयुद्ध दिवसको अवसरमा उक्त प्रतियोगिताको आयोजना गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो । उक्त प्रतियोगिता आगामी फागुन १ गते हुने पूर्व जनमुक्ति सेना मकवानपुरका अध्यक्ष सुमन पाख्रिनले जानकारी दिए ।
उनका अनुसार, प्रतियोगिता ५ किलोमिटर दूरीको हुनेछ । दौड प्रतियोगिताको रुट बुद्धचोकबाट सुरु भई भैरवरोड, चिसापानी, लक्ष्मी आधारभूत विद्यालय, सूर्यचोक, ब्रम्हदीक स्कुल, नवोदय शिशुसदन, थाहाचोक, शिलतमहल हुँदै ओमभवन रहेको छ ।
आम जनताको बिचमा जनयुद्धको प्रभाव र ऐतिहासिकतालाई नयाँ पुस्तामा निरन्तर सन्देश प्रवाह गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको पूर्व जनमुक्ति सेना मकवानपुरका अध्यक्ष पाख्रिनले बताए ।
प्रतियोगितामा विजेता र उपविजेताले क्रमशः नगद १५ हजार र १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, तेस्रो स्थान हासिल गर्नेलाई नगद ५ हजार पुरस्कार राशी तय गरिएको छ ।
७ जनालाई प्रोत्साहन तथा सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
एथलेटिक्स नियम अनुसार, सञ्चालन हुने प्रतियोगितामा सहभागिलाई १ थान टिर्सट निःशुल्क उपलब्ध गराइने आयोजकले जनाएको छ ।