दुर्घटनामा परेर एक जनाको मृत्यु

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गल्छिबाट त्रिशूलीतर्फ जाँदै गरेको बा.३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. ५८ प २८०४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर मोटरसाइकलमा सवार २२ वर्षीय जीवन राईको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक जीवन बेलकोटगढी नगरपालिका–७ का स्थानीय बासिन्दा हुन् ।
उनको मृत्यु भएसँगै उनका आफन्तले त्रिशूली–काठमाडौं सडकखण्ड अवरोध गरेको र उक्त सडकखण्डमा अवरोध हटाउनका मृतकका आफन्तसँग वार्ता भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
दुर्घटनामा परेर बसमा सवार १८ जना र मोटरसाइकलमा सवार १ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल नुवाकोट लगिएको जनाइएको छ ।