महिला टी–२० आई शृंखलाः उपाधि होडबाट बाहिरियो नेपाल

तु खबर संवाददाता
२०८१ माघ २२,मंगलवार १७:२४

काठमाडौं । संघीय राजधानी काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२० आई शृंखलाको उपाधि होडबाट नेपाल बाहिरिएको छ ।

मंगलबार भएको नेपाल र थाइल्याण्डबीचको खेलमा थाइल्याण्डसँग ५ रनले पराजित भएसँगै उपाधि होडबाट बाहिरिएको हो । नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डसँग खेलेको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र बनाउन सफल भए ।

पछिल्ला तीन वटै खेलमा पराजित भएको थियो । शृंखलामा जित्ने सम्भावना कायमै राख्न नेपाललाई यस खेल जित्नैपर्ने दबाब थियो । तर, अब नेपालले बाँकी दुवै खेल जितेपनि उपाधिका लागि पर्याप्त हुने छैन ।