अवैध लागूऔषधसहित ९ जना पक्राउ

तु खबर संवाददाता
२०८१ माघ २२,मंगलवार १६:०६

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर, बर्दिया, झापा, चितवन र कैलाली जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका –११ बाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ८ सय ३० मिलिग्रामसहित सोही नगरपालिका–५ बस्ने २६ वर्षीय अर्जुन गुरूङलाई सोमबार दिउँसो पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिका–१ बाट अवैध लागूऔषध ब्राउनसुगर १ सय ३० मिलिग्रामसहित सोही नगरपालिका–४ मैनवार बस्ने १७ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भुरिगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त परिणामको लागूऔषध पक्राउ गरेको हो ।

यस्तै, झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम १ सय ३० मिलिग्रामसहित प्रहरीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ बस्ने २२ वर्षीय सुरेन्द्र राईलाई सोमबार साँझ पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।

यता, चितवनको भरतपुर महानगरपालिका–४ दुर्गाचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ सय ६५ ट्याब्लेट, भोमिन ७ सय ९५ ट्याब्लेट र नगद र ८ हजार ४ सय रूपैयाँ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–४ रामघाट बस्ने गोरखा शहिद लखन गाउँपालिका–१ घर भएका २४ वर्षीय विवेक आले मगर र सोही महानगरपालिका–३ बस्ने १९ वर्षीय प्रशान्त गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवन र वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा विवेकको कोठाबाट ट्रामाडोल १ हजार ७ सय २० ट्याब्लेट, भोमिन १ हजार ७ सय ३५ ट्याब्लेट र प्रोमेथ १२ ट्याब्लेट समेत फेला पारी बरामद गरेको छ ।

यस्तै, प्रहरीले कैलालीको गौरीगंगा नगरपालिका–११ झन्झटपुरस्थित घुम्ती पसलबाट अवैध लागूऔषध गाँजा ७० ग्रामसहित ४ जनालाई सोमबार बेलुकी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका–११ बस्ने ३८ वर्षीय तुला राम चौधरी, ३१ वर्षीय श्रवण कुमार चौधरी, २७ वर्षीय अजय चौधरी र २१ वर्षीय विवश चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।