जिल्ला प्रशासन कार्यालय मकवानपुरको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक

तु खबर संवाददाता
२०८१ माघ ८,मंगलवार १०:२९

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यालयले साउनदेखि पौष मसान्तसम्मका गरी ६ महिनामा सम्पन्न गरेका प्रमुख कार्यहरूको बारेमा जानकारी गराएको हो ।

सो अवधिमा १२ जना घाइते र अपांगता भएका व्यक्तिहरूलाई ४ लाख ५५ हजार चार सय रुपैयाँको जीवन निर्वाह भत्ता उपलब्ध गराएको, द्धन्द्धपीडितको नामावली अद्यावधिक गरिएको, गत आर्थिक वर्षका ८७ दशमलव ५७ प्रतिशत र यस आर्थिक वर्षको ७५ प्रतिशत मुद्दाहरूको समाधान गरेको सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिए ।

यस्तै, चालु आर्थिक वर्षमा राष्ट्रिय परिचयपत्र र पञ्जिकरण विभागबाट ११ हजार राष्ट्रिय परिचय पत्र कार्ड वितरण, ७ हजार ५ सय ९० वटा वितरण गरिएको, ५ हजार ५ सय ९० जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेको र ४ जनाले वैवाहिक अंगिकृत नागरिकता लिएको उनले बताए ।

यसैगरी, १३ जना गैरआवासीयले नागरिकता प्राप्त गरेका छन् भने असोज महिनामा आएको विपद्बाट प्रभावितलाई राहतको रूपमा ४३ लाख ४० हजार रुपैयाँ वितरण गरिएको छ ।

यसैगरी, संकटग्रस्त क्षेत्र इन्द्रसरोवर गाउँपालिकाका लागि ७५ लाख, बकैया र भीमफेदीका लागि ५०÷५० लाख राहत रकम पठाइएको पनि सहयाक प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले नेपाल पत्रकार महासंघका नवनिर्वाचित समितिलाई सम्मान र बधाई ज्ञापन गर्दै जिल्लामा शान्ति– सुरक्षाको सुनिश्चितता गर्नका लागि एकीकृत सुरक्षा योजना र क्षेत्रगत विशेष सुरक्षा योजना तर्जुमा गरिएको जानकारी दिएका थिए ।