हेटौंडामा सवारी दुर्घटना, तीन जना घाइते

तु खबर संवाददाता
२०८१ माघ १,मंगलवार ०९:५३

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, सिपाली चोकमा सोमबार सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । फापरवारीबाट हेटौंडातर्फ आउँदै गरेको बा ९ च १३३८ नम्वरको कारले तिब्र गतिका कारण सोही ठाउँ बस्ने प्रकाश गौतमको एक तले पक्की घरको सटरमा ठक्कर दिँदा तीन जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार, घाइते हुनेहरुमा हेटौंडा–१६, सिपालीचोक बस्ने वर्ष ३२ की मालती गौतम, वर्ष ३२ की राधिका आचार्य र आचार्यको छोरा वर्ष ८ को श्रयान आचार्य रहेका छन् । घाइते सबैलाई तत्काल उद्दार गरी उपचारको लागि हेटौंडा अस्पताल पठाइएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि घाइतेमध्ये गौतम र ८ वर्षीय बालकलाई राति नै बि एण्ड बि अस्पताल काठमाडौं, अर्का घाइते राधिका आचार्यलाई न्युरो अस्पताल बाँसबारी काठमाडौं रिफर गरेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

ठक्कर दिने कार चालक हेटौंडा– १० बस्ने वर्ष ५८ को सानु थापालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।