कैलाशमा पूर्ण सरसफाई उन्मुख टोल अभियान घोषणा

तु खबर संवाददाता
२०८१ पुष १३,शनिबार १०:४९

मकवानपुर । खानेपानी तथा सरसफाईका लागि तोकिएको सूचकको पालना गर्दै मकवानपुरको कैलाश गाउँपालिकाका विभिन्न टोलबाट पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोलको घोषणा गरिएको छ । शुक्रबार कैलाश गाउँपालिका–९ को बिर्ता, अम्बोटे र बरेटार टोललाई पूर्ण सरसफाई उन्मुख घोषणा गरिएको हो ।

मकवानपुरमै पहिलो पटक कैलाश गाउँपालिका–२ को रानाटोल र बुढौलीटोल बिहीबार पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरिएकोमा शुक्रबार कैलाश–९ का थप ३ वटा टोललाई पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले जानकारी दिए ।

कैलाश–९ मा वडाध्यक्ष भुवनसिं घलानको अध्यक्षतामा भएको घोषणा सभामा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विकट गाउँमा खानेपानीको पहुँचबाटै टाढा रहेको नागरिकलाई खानेपानी र सरसफाई सम्बन्धी काम गर्नु चुनौतीपूर्ण भएता पनि आरआरएनसँगको सहकार्यमा टोलटोलमा कामहरु गर्न सफल भएको बताए । हरेक टोललाई पूर्ण सरसफाई र सुरक्षित खानेपानीयुक्त टोल बनाउनको लागि संस्थासँग निरन्तर सहकार्य गर्ने उनले प्रतिवद्धता जनाए ।

नेपाल ग्रामीण पुनर्निमाण संस्था (आरआरएन) सँगको सहकार्य र कैलाश गाउँपालिले सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरेको हो । मकवानपुरको पहाडी क्षेत्रमा खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीको सुद्धीकरण र व्यवहार परिवर्तन परियोजनाअन्तर्गत आरआरएनले कैलाशमा अभियान चलाएको थियो । सो क्रममा गाउँपालिका कार्यालयसँग सहकार्यमा टोलहरुमा खानेपानी र स्वच्छतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, आरआरएनका कार्यक्रम संयोजक लीलबहादुर कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।