एनएनआइपिए स्पोर्ट्स अवार्ड पुष तेस्रो साता हुने

तु खबर संवाददाता
२०८१ पुष ९, मंगलवार ०९:१६

काठमाडौं । १९ औं एनएनआइपिए स्पोर्ट्स अवार्ड यही पुष तेस्रो साता हुने भएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्नो वार्षिक कार्यक्रम अनुसार प्रत्येक वर्ष खेलाडीको प्रोत्साहनका अवार्ड कार्यक्रमा सञ्चालन गर्दै आएको छ ।

सोही कार्यक्रमलाई निरन्तरता दिँदै यही पुष २० गते शनिबार अवार्ड कार्यक्रम गर्न लागेको संघले जनाएको छ । संघका अनुसार, अवार्ड कार्यक्रममा गत वर्ष आयोजना भएको १९ औं एसियाली खेलकुद प्रतियोगितामा समावेश भएका २९ खेललाई आधार मानेर सम्बन्धित संघले सिफारिस गरिएका खेलाडीलाई वर्ष उत्कृष्ट खेलाडी–२०८० बाट सम्मान गरिनेछ ।

२९ खेलमध्येका उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडीमध्येबाट एक पुरुष र एक महिलालाई सर्वोकृष्ट खेलाडी अर्वाडबाट एक लाख रुपैयाँसहित सम्मान पनि गरिनेछ ।

एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडीलाई ५० हजार रुपैयाँ, एक जना पाका खेल व्यक्तिलाई गजराज आर्दश खेल व्यक्तित्वबाट ३५ हजार रुपैयाँ, एक खेल पत्रकारलाई एनएनआइपीए खेल पत्रकारिता पुरस्कारबाट ३५ हजार रुपैयाँ र एक जना वर्ष उत्कृष्ट पारा खेलाडीलाई १५ हजार रुपैयाँबाट सम्मान गर्ने संघले जनाएको छ ।