यश लामाको ‘अगुल्टो नाच’ हेरेपछि

प्रवेश
मकवानपुरे साहित्यिक क्षेत्रका परिचित सर्जक हुन् यश लामा । पेसाले अध्यापक लामा गर्दछन् समसामयिक विषयमा फरक धारका कविता सिर्जना । अनि गर्दछन् समसामयिक यथार्थमाथि चोटिलो प्रहार । समयको आवाजलाई पार्दछन् बुलन्द । आफूलाई कवितामा बढी चिनाएको भए पनि छन् उनी अन्यान्य विधामा पनि सिद्धहस्त । मनका गुम्फन, असन्तुष्टि र वैचारिक चिन्तनलाई विद्रोहको भुङ्ग्रोमा बनाउँछन् काव्यको मिठो परिपाक । लामाको काव्यलोकमा व्याप्त छन् चेतना र विद्रोह । बहिस्करणमा परेका आवाजलाई मुखरित गर्ने लामाको हालै प्रकाशित कविता संग्रह हो ‘बहिस्कृत आवाज’ ।
सन्दर्भ
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दर्ता भएका साहित्यिक पत्रिकाहरुमध्ये साहित्यिक तथा वैचारिक त्रैमासिक हो – लोक भावना । प्रकाशक÷सम्पादक हुन् नानीमैयाँ अधिकारी । यस पत्रिकाको ६७ औँ अङ्क (२०८१ असोज–मङ्सिर) पृष्ठ ५०मा प्रकाशित छ लामाको ‘अगुल्टो नाच’ कविता । केवल एक पृष्ठलाई ओगटेको छ यसले । कविताका सर्जक हुन् मकवानपुरे कवि यश लामा ।
आयाम
लघुआयामको ‘अगुल्टो नाच’ संरचित छ ४४ पङक्ति, विभिन्न आयामका ८ अनुच्छेद (श्लोक ?) तथा १६४ शब्दमा । स्पष्ट रुपमा कुनै भूगोल वा समयको कुनै स्पष्ट बिन्दुलाई समेटेको नभए पनि प्रस्तुत गरिएका सांस्कृतिक बिम्बहरुले सङ्केत गर्दछन् नेपाली भूगोल, संस्कृति र चाहनाको परिवेशलाई । हजारौँ वर्ष अगाडिदेखि वर्तमान हुँदै भविष्यको पनि सङ्केत गरेको छ यसले ।
विषयवस्तु
‘अगुल्टो नाच’ कविताको मुख्य विषयवस्तु हो भावना । छ यसमा चेतनाको उच्च आभाष र भेटिन्छ विद्रोहको स्वर । भौतिक अगुल्टो मुख्य बिम्बले चेतनाको अगुल्टोलाई अङ्कमाल गर्दै च्याब्रुङ, भुमा, सेलो, भुमे र लाखे गरी पाँच सांस्कृतिक तथा परम्परागत नाचका प्रतीकहरुमा गरिएको छ फिलिङ्गाहरुको खोजी । परम्परामा अन्धता मात्र होइन, पाइन्छ विद्रोह पनि । हिउँमा हिउँ ठोसेपछि बन्दछ एक चुल्हो चेतना । कविताले, पहिचानलाई दबाउन नहुने भनी सचेत गराउँदै देखाएको छ विद्रोहका विगतहरु । इतिहासको पनि पहिचान भएको, रहेको संस्कृतिको पहिचान पनि र समतामूलक समाजको स्थापना हुन् कविताका मुख्य विषयभाव । ‘आफ्नै चुल्होमा बल्न चाहन्छ समताको अगुल्टो’ र ‘हिउँ पनि बन्छ आफ्नो अस्तित्व जोगाउन आगो’ पङ्क्ति हुन् मुख्य स्वर । मातृसत्ता र पितृसत्तामा पनि समता हुनुपर्ने भावनाले ओतप्रोत छ कविता । विद्रोहको भाव र चेतावनीको भाषा हुन् मुख्य सम्पदा । वर्तमानका कतिपय यथार्थलाई जस्ताको तस्तै स्वीकार्न नसकिने मुख्य कथन हो कविताको ।
भाषाशैली
प्रतीक, बिम्ब र अलङ्कार तिनै शृङ्गारले सुसज्जित ‘अगुल्टो नाच’ कवि यश लामाको मुख्य शैलीलाई प्रतिनिधित्व गर्ने फुटकर कविता हो, सङ्क्षेपमा । संस्कृतिसित सम्बन्धित बिम्बहरुको भरमार प्रयोग छ यसमा । अनेकपटक पुनरावृत प्रतीक हो – अगुल्टो । प्रयोगमा आएको छ यसको तिर्यक रुप पनि । कलात्मक र काव्यात्मक भाषाले बढाएको छ ओज यस कविताको । कवि र कविताको उद्देश्यलाई स्पष्ट पार्न सक्षम छन् भाषा र शैली । चेतना दिएर ठाडो चेतावनी दिनु र भान्साबाट उत्पीडन तातिएको बताउनुले सहने सीमाको उत्कर्ष चढेको भावलाई प्रवाहित गर्न देखिएको छ सक्षम । मनका गुम्फन र उकुसमुकुसलाई निकाश दिन सफल छ कविताको भाषा । विद्रोहको भावलाई दिएको यसले सरल प्रवाह ।
शीर्षक
प्रतीकात्मक शीर्षक भएको कविता हो ‘अगुल्टो नाच’ । नेपाली संस्कृतिमा प्रत्यक्ष ‘अगुल्टो नाच’ प्रचलनमा रहेकोबारे खासै नसुनिएको र कवितामा पनि अगुल्टोको गन्ती गरिएको हुँदा ‘अगुल्टो नाच’ आएको छ विभिन्न सांस्कृतिक प्रतीक बनेर । समन्वय गराइएको छ अगुल्टोको विभिन्न सांस्कृतिक नाचसित । ‘समताको आगो’ बोकेर ‘हिउँ पनि आफ्नो अस्तित्व जोगाउन आगो बन्छ’ याथार्थिक आगोलाई प्रतीक बनाई क्रान्तिकारी भाव दिने ‘अगुल्टो’ बन्न पुगेको देखिन्छ कवितामा । प्रतीकार्थक शीर्षक सार्थक छ ‘अगुल्टो नाच’ ।
उद्देश्य
हिउँमा पनि हुन्छ विद्रोहको आगो र ‘चिसो चेतना पनि ठोसेपछि बन्न सक्छ आगो’ यही देखाउन गरिएको छ रचना काव्यको । संस्कृतिको पुनव्र्याख्या हुुनुपर्ने र सांस्कृतिक उत्खनन हुनुपर्ने अन्यथा सह्य नहुने सचेत भावले ओतप्रोत प्रस्तुत काव्य सङ्गम हो आह्वान र चेतावनीको । ‘हिउँ पनि आफ्नो अस्तित्व जोगाउन आगो बन्छ’ ले क्रान्तिकारी भाव अभिव्यक्त गर्दै ‘अगुल्टोसँग ख्याल गर, सिमा नाघेर कुल्चन नखोज’ले दिएको छ स्पष्ट सङ्केत । सांस्कृतिक उत्पीडनले पनि ‘समतामूलक समाज’ निर्माणमा उत्पन्न गरेका बाधाहरुलाई पन्छाउनुपर्ने चेत बोकेको यस कविताले मुखरित गरेको छ चेतना र विद्रोह । सरल शब्दावलीमा नवीन बिम्बमार्फत क्रान्तिकारी भावको प्रस्तुति कविको मुख्य उद्देश्य देखिन्छ यसमा । कविले दिन खोजेको सन्देश प्राप्त हुन्छ पाठकलाई काव्य प्रवाहको तरङ्गसँगै ।
निष्कर्ष
काव्य शिल्पमा निर्माण गरिएको पहिचानलाई कायम राख्दै मनको गुम्फनलाई क्रान्तिकारी धार प्रदान गर्न सफल कवि यश लामाको सचेत कविता हो यो । सरल शब्दावली र वरपरकै सांस्कृतिक बिम्ब र नवीन प्रतीक चयन गरेर कवि लामाले सम्पन्न बनाएका छन् काव्यको गरिमालाई । ‘प्रिय मित्र’को सम्बोधन र ‘अगुल्टोसँग ख्याल गर’को चेतावनीको संयोजनले कविको नरम विद्रोहको शैलीलाई प्रस्फुटन गरेको छ ‘अगुल्टो नाच’मा । अतः यस कवितालाई कविको मूल प्रवाहमा एक सार्थक कडी मान्न सकिन्छ स्वाभाविक । र, सबैले हेर्न लायक रहेको कवि यश लामाको ‘अगुल्टो नाच’ ।
(साहित्यका मकवानपुरको महक: शृङ्खला २८)